भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

१४औं महाधिवेशन: काँग्रेसमा तीन गुट, सभापतिमा ८ जना आकांक्षी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी ७ देखि १० फाल्गुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल काँग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । नेता पौडेलले अनामनगरमा रहेको एक घरलाई भेटघाट गर्ने थलो बनाइसकेका छन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर काँग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् । उनले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् ।

यसैगरी, हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् । उनले महामन्त्री डा. शशांक कोइरालालाई भेटेरै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको कोइराला निकट स्रोतले बताएको छ । उनी हालका सभापति देउवाका विश्वास पात्रसमेत मानिन्छन् । १४औं महाधिवेशनमा देउवा आफैं उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् ।

यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा. शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहेका छन् । उनले केही समयअघि उपत्यकाबाहिर आयोजना भएका कार्यक्रममै आफू उम्मेदवार बन्ने सन्देश दिएका थिए । उनी हाल संस्थापन इतर समूह मानिने पौडेल समूहमा छन् । उनले हालै भेटघाटका लागि भन्दै महाराजगन्जस्थित निवाससँगै एक घर भाडामा लिएका छन् ।

यस्तै, कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको जनाउ दिँदै आइरहेका छन् । उनीसमेत हाल पौडेल समूहमा नै छन् । उनले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाट थलो बनाएका छन् । यस्तै, चाक्सीबारीमा रहेको निवासमा समेत उनले भेटघाट गर्दै आइरहेका छन् ।

यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् । उनले कोरोना संक्रमणका बिचमा समेत उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहेका छन् । उनीसमेत हाल संस्थापनइतर समूहमै छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिएका छन् । उनले केही दिनअघि राजधानीमा भएको युवा नेताहरूको कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका हुन् । उनी हाल कांग्रेसभित्र सिटौला समूहसँग निकट छन् ।

कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार