भाद्र ११, २०८३ बिहिबार August 27, 2026

पूर्वमन्त्री थापा सहित राप्रपाका २१ जना नेता काँग्रेस प्रवेश – देउवा र पाैडेलले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा अन्ततः नेपाली  काँग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा थापासहित केहि केन्द्रीय सदस्यहरु काँग्रेस प्रवेश गरेका हुन् । थापासहित २१ जनालाई काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतका नेताहरुले पार्टी प्रवेश गराएका थिए । थापासँगै राप्रपाका केन्द्रीय नेता र जिल्लास्तरीय नेताहरू समेत काँग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशका क्रममा थापालाई देउवाले पार्टी सदस्यता कार्ड प्रदान गर्नुभएको थियो । राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । पार्टी प्रवेश गराउदै काँग्रेस सभापति देउवाले लोकतान्त्रिक शक्ति एकजुट भएर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

सभापति देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तहरु संकटमा परेका कारण लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिने पर्ने धारणा राखे । सभापति देउवाले राप्रपा परित्याग गरेर कांग्रेसमा आएका नेताहरुलाई कुनै भेदभाव नगरिने पनि बताए । त्यस्तै काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन लोकतान्त्रीक शक्तिहरु एक हुनुपर्ने धारणा राखे ।

त्यस्तै पार्टी प्रवेश गर्दै सुनिल थापाले अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको बताए । नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन आफु काँग्रेसमा प्रवेश गरेको उनको भनाई थियो । पार्टी प्रवेशका क्रममा थापाले लोकतान्त्रिक शक्ति कांग्रेसको सिद्धान्त आफूलाई मन परेको बताए । उनले कांग्रेसमा आफू कसैको भाग खोस्न नआएको बताएका छन् ।

बुवा सूर्यबहादुर थापा २०१० सालमा नेपाली काँग्रेस धनकुटाको कोषााध्यक्ष रहेको स्मरण गर्दै थापाले काँग्रेसले लिएको प्रजातान्त्रिक प्रणालीलाई साथ दिन आफू काँग्रेस प्रवेश गरेको धारणा राखे । मन्तव्यका क्रममा उनले काँग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई स्मरण गरेका थिए ।

थापासहित राप्रपाका ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया