फागुण ५, २०८१ सोमबार February 17, 2025

समस्याग्रस्त घोषित दुई वटा सहकारी संस्थामा तालाबन्दी

सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै सहकारीले प्रयोग गर्दै आएको सर्भरलगायतका सामग्री नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, माघ ३ गते । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुई वटा सहकारी संस्थामा तालाबन्दी गरेको छ ।

प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन सहकारी संस्थामध्ये लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।

सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई यसअघि मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन समितिलाई निलम्बन गर्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

समितिका सदस्यसचिव महेश आचार्यले सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै सहकारीले प्रयोग गर्दै आएको सर्भरलगायतका सामग्री नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

“सहकारीको खाता रोकिएको छ, सहकारीका सेयर सदस्यको पनि खाता रोक्का हुन्छ,” उहाँले भन्नुभयो, “सहकारी संस्थाको सञ्चालक समिति निलम्बित भएको छ, अब हाम्रो जिम्मेवारीमा आएको छ ।” उहाँका अनुसार नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा यसअघि नै तालाबन्दी गरी सञ्चालक समितिलाई निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाइएको छ ।

नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरी सहकारीको आयव्यय, दायित्वलगायतका अवस्था बुझ्न बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारीसहितको टोलीले सहकारीमा रहेका कम्प्युटरको हार्डडिक्स, खातालगायतका सामग्री नियन्त्रणमा लिएको थियो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया