भाद्र ११, २०८३ बिहिबार August 27, 2026

दार्चुलामा पहिरोले घर पुरिँदा जोशी दम्पतीको मृत्यु, छोरा भागेर बाँच्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्‍डाैंः दार्चुलाको हुँ गाउँपालिका-३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ ।

मंगलबार आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफल भएका छन् ।

दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहिरो गएको थियो । सडकभन्दामुनि घर भएका जोशीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताउनुभयो । पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उहाँले बताउनुभयो ।

जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्रहरी चौकी ब्रह्मदेव र जिल्लाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बाख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए । जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् । जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालिकार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाएका हुन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया