असार २९, २०८२ आइतबार July 13, 2025

सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिन प्रेस सेन्टरको माग (विज्ञप्ती)

विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रेस सेन्टर नेपालले सरकारले ल्याएको संसदमा दर्ता गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक जनयुद्ध र जनआन्दोलनमार्फत आएको संविधानको भावना र मर्म विपरीत भएको भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको हो ।

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको संगठनका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सरकारले गरेको गतिविधि र निर्णय एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’, महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टर नेपालले माग गरेको छ । माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि सेन्टरले विज्ञप्तीमार्फत चेतावनी दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया