असार २२, २०८२ आइतबार July 6, 2025

म कुनै पद र पावरका लागि काँग्रेसमा गएको होइन – सुनिल बहादुर थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पारिवारिक विरासत जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर काँग्रेस प्रवेशको अवस्था कसरी निर्माण भयो ?

लोकतान्त्रिक गठबन्धन बनाएर हामीले चुनाव लड्यौँ तर हाम्रो पक्षमा नतिजा आएन । धनकुटामा हाम्रा साथी भाइहरु र नेपाली काँग्रेसका साथी भाइहरुबीच बरु हामी एकै ठाउँमा बसेर साम्यवाद र अधिनायकवादसँग लड्न सक्छौँ भन्ने कुरा भयो । त्यसले एकखालको वातावरण सिर्जना गरेको थियो । पछिल्लो समय काँग्रेसका वरिष्ठ साथीहरुले ‘तपाईं आइदिए राम्रो हुन्थ्यो । पार्टीलाई थप ऊर्जा मिल्थ्यो । तपाई संविधानलाई स्वीकार गर्ने व्यक्ति भएको र संविधानप्रति तपाई कटिबद्ध भएकोले तपाई काँग्रेसमा आइदिनु’ भन्ने कुरा भइरहेको थियो ।यता ०७३ फागुनमा भएको राप्रपा एकता महाधिवेशनपछि स्वर्गीय सूर्यबहादुर थापाले अपनाएका मुल नीति र सैद्धान्तिक पक्ष तथा राजेश्वर देवकोटाले अपनाएको उदारवादलाई पार्टीले छोड्दै आएको थियो ।

२०७६ फागुनमा एकीकरण हुँदा स्वर्गीय थापाले लिनुभएको तीनवटा मुल नीतिबाट राप्रपा बिचलित हुनपुग्यो । बृहत् लोकतान्त्रिक शक्तिको एकता, परिवर्तनलाई आत्मासात् र उदारवादलाई हालैको एकीकरणले समेत ‘डम्प’ गरिदियो र नेपालको संविधान विपरीत पार्टीले कार्यनीति लियो ।

संविधानलाई राप्रपा र राप्रपा नेपालले स्वीकार गरेकै हुन् । राप्रपाका अध्यक्षले नेपालको संविधान उत्कृष्ट भनेर बढाई पनि गर्नुभयो । तर अहिले आएर त्यसलाई पुरै ‘युटर्न’ गरेर संविधानको मर्म र भावना विपरीत पार्टीलाई उभ्याउने काम भयो । साथसाथै जनताले चाहेको परिवर्तनलाई चट्ट छोडेर यो पार्टी दक्षिणपन्थी धारमा लान खोजियो । यसरी पार्टी अटाउन नसक्ने वातावरण बनाइदिएपछि हामी बाहिरिएका हौँ ।

स्वर्गीय सूर्यबहादुर थापाको नीति र सिद्धान्त भनिरहँदा उहाँको विरासत तपाईले समाप्त पारिदिएको राप्रपाका नेताहरुको आरोप छ नि ?

म जहाँ उभिन्छु, सूर्यबहादुर थापाको विरासत मसँगै जान्छ । सूर्यबहादुर थापाको छोरो म नै हो नि । अरु त होइन । अहिले मलाई होच्याउनका लागि उहाँहरुले यस्तो भन्नु भएको हो ।

हिजो हामीलाई स्पेस नदिएकोमा उहाँहरुलाई पछुताउनु परेपछि यो विरासतको कुरा निकाल्नु भएको हो । त्यसो हो भने पार्टीले उहाँ (सूर्यबहादुर) को सैद्धान्तिक पक्षलाई किन नलिएको त ? पार्टीलाई जीवन्त राख्ने त सैद्धान्तिक पक्षले हो नि ? किन उहाँहरुले त्यसलाई मार्नुभयो ? किन निषेध गर्नु भयो ? त्यसैले म जहाँ हुन्छु, त्यहीँ ठाउँमा विरासत पनि हुन्छ । म जहाँ बस्छु, त्यहीँबाट बिरासत अगाडि लिएर जान्छु ।

सूर्यबहादुर थापाका नीति र सिद्धान्त काँग्रेसमा बसेर अगाडि बढाउन सम्भव होला र ?

उहाँले बोकेका कुराहरु नेपाली काँग्रेससँग मिलजुल हुन्छ । किनभने उहाँले ‘माओवादी राष्ट्रिय राजनीतिमा आइसकेपछि अब नेपालमा लोकतान्त्रिक शक्ति एक ठाउँमा भएर शक्ति सन्तुलन मिलाउनुपर्छ, होइन भने साम्यवाद र अधिनायकवाद हावी हुन्छ यो देशमा’ भन्नुभएको थियो । त्यसका लागि बुहत् लोकतान्त्रिक शक्तिको मोर्चा नेपाली काँग्रेसको नेतृत्वमा हुनुपर्छ भनेर उहाँले भन्नुभएको थियो । दोस्रो कुरा, परिवर्तनलाई आत्मासात् गरेर जानुपर्छ भन्ने कुरा । अहिले नेपाली काँग्रेसले पनि त्यही अपनाएको छ नि !

राप्रपाले सूर्यबहादुर थापाको सबै कुरा मेटाउन चाहने र उहाँको इतिहासलाई समाप्त गर्न खोजिरहेको बेलामा म अटाउने काँग्रेस नै भएकाले म यो पार्टीमा आएको हुँ ।

तपाईँ लामो राजनीतिक अनुभवभन्दा पनि जागिरे जीवनबाट राप्रपाको राजनीतिमा होमिनु भयो । राप्रपाभित्रै रहँदा पनि कहिले कमल थापा निकट, कहिले पशुपति शम्शेर त कहिले कता लागेर अस्थिर भइरहनुभयो । जागिरे पृष्ठभूमिले तपाईलाई स्थिर हुन नदिएर काँग्रेससम्म पु-याएको भन्ने छ नि ?

त्यो भन्नेहरुलाई म चुनौती दिन चाहन्छु । मलाई भन्नुप-यो यो–यो ठाउँ भनेर । मैले कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनीको बारेमा तपाईहरु तीनजना मिलेर एकताको अधिवेशनमा एक जनालाई उठाउनु भएन भने म कमल थापालाई शंकाको सुविधा अनुसार साथ दिन्छु भनेको थिएँ । पशुपतिजी र सूर्यबहादुर थापा एकै ठाउँबाट आएकाले र उहाँहरु परिवर्तनकै पक्षमा भएकाले कमल थापाबाट छुट्टिएर सँगै बसेका हौँ ।

यति भनिरहँदा पनि काँग्रेसमा तपाईको आगामी यात्राको निरन्तरतामाथि आशंका देखिन्छ, यसलाई कसरी चिर्नुहुन्छ ?

कुनै कालखण्डमा कोही जागिरे भए पनि केही न केही अनुभव बोकेर ल्याएको हुन्छ । म मन्त्री भएको बेला आयल निगम कुन हालतमा र कस्तो थियो ? नेपालको ट्रेड कुन स्थितिमा थियो ? प्रशासनिक क्षमता भएको मान्छे भए राजनीतिलाई फाइदा हुन्छ । संयुक्त राष्ट्रसंघमा पनि कुटनीतिक राजनीतिकै कुरा हुन्छ । मैले लामो समय त्यहाँ बिताए, अनुभव लिएर आएँ नि ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा बर्दियामा ठूलो बढी जाँदा मलाई पठाउनुभयो । पछिल्लो समय भूकम्प जाँदा त्यत्रो ठूलो लजिस्टिक सपोर्ट राष्ट्र संघको अनुभवले गर्दा पाइयो, एक जना पनि खान नपाएर मर्नुपर्ने अवस्था आएन ।

विकट ठाउँमा पनि खाद्यान्न पुर्याउन सफल भएँ । अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन प्रणाली ल्याएँ । त्यसले कसलाई फाईदा भयो ? म जुन राजनीतिक पार्टीमा हुन्छु, उसैले फाइदा लिने हो नि । त्यतिबेला राप्रपाले फाइदा लिन नसके पनि समग्रमा राष्ट्रलाई फाइदा भयो नि । जागिरे मानसिकताभन्दा पनि ब्युरोक्रेटिक्स नम्सले राजनीतिलाई आत्मासात् गर्दै काम गर्न सकिन्छ ।

राप्रपाबाटै तपाईँ सांसद बन्नु भयो, मन्त्री पनि बन्नुभयो, राष्ट्रिय राजनीतिमा आफूलाई उभ्याउनु भयो । सबै थोक पाएको पार्टीबाट किन बाहिरिनु भयो ? राप्रपालाई नै सशक्त बनाएर नेता बन्ने अवसर पनि तपाईँमा थियो नि ?

त्यो अवस्था नभएपछि मै निस्किएको हुँ । जुन ठाउँमा आफूलाई सहज हुँदैन, त्यहाँ राजनीति गर्न गाह्रो हुन्छ । अर्को कुरा, राजनीतिलाई भावनासँग जोड्न हुँदैन । राजनीति यथार्थमा आधारित हुनुपर्छ । राप्रपाले लोकतान्त्रिक मान्यतालाई बोक्न नसकेपछि त्यो पार्टीमा बस्नु कुनै औचित्य हुँदैन । किनकि त्यो पार्टीले नै युटर्न लिइसकेको छ । त्यसकारण म भावनाभन्दा पनि म यथार्थमा विश्वास गर्ने मान्छे हुँ ।

मैले पदकै लागि राजनीति गर्ने हो भने राप्रपाले मलाई जुनसुकै पद पनि दिन सक्थ्यो । मैले पद र सहजताका लागि मात्र राजनीति गरेको होइन ।

आगामी दिनमा राप्रपाबाट कुनै अवसर पाउने अवस्था नभएपछि तपाई काँग्रेसतिर लाग्नु भयो भन्ने भनाइलाई कसरी लिनु भएको छ ?

त्यस्तो होइन । लोकतान्त्रिक संस्थाहरु कमजोर भएको अवस्थामा राप्रपाले कुनै भूमिका देखाउन नसक्दा र नेपाली काँग्रेसलाई सशक्त बनाएर पावर व्यालेन्स गर्न काँग्रेसमा मेरो प्रवेश भएको हो । भोलि नेपाली काँग्रेसलाई एक नम्बर पार्टी बनाउने उद्देश्य लिएर म अघि बढेको छु ।

काँग्रेस आफै यतिबेला विवादको चक्रमा छ । एजेण्डामाथिको बहसभन्दा भागबण्डाको लडाईँ चलिरहेको छ । यस्तो अवस्थामा काँग्रेस कसरी एक नम्बर पार्टी बन्छ र ? कसरी एक नम्बर बनाउनु हुन्छ काँग्रेसलाई ?

नेपाली काँग्रेसमा मेरो एक खालको स्थान रहन्छ । काँग्रेसको महाधिवेशन आइरहेको छ । सबै किसिमका एजेण्डामा छलफल भएर पार्टीलाई कसरी सफल बनाउने भन्ने निकास निस्कन्छ ।

तपाईको पार्टी प्रवेशबारे काँग्रेसभित्र मतभेद देखिन्छ । तपाईले सोचेजस्तो सहज होला र ?

काँग्रेसजस्तो ठूलो लोकतान्त्रिक पार्टीमा यस्ता कुरा चलिरहन्छन् । यस्तै भएर त काँग्रेस सशक्त पार्टी भएको छ । अर्को कुरा, पार्टी प्रवेशको परिदृष्य देखिहाल्नु भएको थियो । त्यहाँ को–को आए त हामीहरुलाई स्वागत गर्न भन्ने कुराले नै सबै देखाउँछ ।

काँग्रेसमा लामो समय योगदान दिएको नेताहरुलाई अनुशासनको कारबाही गरिएको बेला तपाई पार्टीमा प्रवेश गर्नुभयो । अर्को कुरा, महाधिवेशनको मुखमा समय उपयुक्त भएन भन्ने लागेन ?

राजनीति गर्ने मान्छेले सबै चुनौतीलाई सामना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । महाधिवेशनमा मिलेर जानुपर्ने भन्ने नीति लिएरै म काँग्रेसमा होमिएको हुँ । म अवसरवादी भएर पद चाहेको भए त काँग्रेसको महाधिवेशनपछि प्रवेश गथ्र्यौँ होला । त्यो होइन । अहिले मेरो लागि मौका हो । राजनीति गर्ने मान्छेले सबै कुराको लेखाजोखा गरेर जानुपर्छ भनेर म र मेरा साथीहरु महाधिवेशनको मुखमा काँग्रेसभित्र छिरेका हौँ ।

राप्रपाको पछिल्लो एकीकरणमा उपयुक्त स्थान नपाएर व्यक्तिगत इगोका कारण तपाईँ काँग्रेसतिर लाग्नुभएको आरोपबारे के भन्नुहुन्छ ?

होइन, होइन । सुनिल थापाले पद मागेको छ भनेर कसैले भनेको छ ? मैले त पद छोडेर आएको छु । मलाई पदको लोभ होइन । हिजोदेखि अहिलेसम्म पनि म बसेको मालीगाउँको घर पावर सेन्टर हो । म कुनै पद र पावरका लागि काँग्रेस गएको होइन । हामी सबैजना उच्च कार्यसम्पादन समितिका सदस्य थियौँ ।

तपाईँसहित ४०/४५ जना काँग्रेसमा आउनु भएको छ । आगामी दिनमा राप्रपाबाट अन्य नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्छन् ?

कोरोनाको महामारीका कारण पार्टीभित्र साथीभाइहरुसँग व्यापक छलफल हुन सकेन । मैले राप्रपाबाट राजीनामा दिएपछि ७७ जिल्लाका साथीभाइहरुको बडो चासो थियो । तपाईँसँग जान पाए हुन्थ्यो, हामी पनि यो पार्टीमा अट्न सक्दैनाँै भनेर धेरैले गुनासो गरिरहेको अवस्था छ । कतिले पार्टी छोडी पनि सक्नु भएको छ । कतिको छोड्ने क्रम जारी छ । राप्रपामा रहेका परिवर्तनलाई आत्मासात् गर्ने साथीभाइहरु विस्तारै नेपाली काँग्रेसमा आउनुहुन्छ ।

६ दशकपछि काँग्रेससँग फेरि गाँसिएको साइनोलाई जोगाइराख्न काँग्रेसको नीति, सिद्धान्त र संस्कारलाई आत्मासात् गर्न कति सहज हुने देख्नुभएको छ ?

नयाँ घरमा प्रवेश गरेपछि ओछ्यान मिलाउनु प-यो, सबै मिलाउनु प-यो । त्यसमा घुलमिल हुन समय त लाग्छ । अर्को कुरा, हामी सबैले सहजै ठानेर काँग्रेस प्रवेश गरेका हौँ । काँग्रेसमा अन्यथा हुन्छ भन्ने सोचेका छैनौँ । बाँकी जीवनका क्षण नेपाली काँग्रेसप्रति नै समर्पित गर्ने अठोट गरेका छौँ ।

हिजोको दिनमा राप्रपाबाट काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरु धेरै दिन काँग्रेसमा टिक्न नसकेको अवस्था छ । ०५२ मा काँग्रेस छिरेका केशरबहादुर विष्ट केही समयमै बाहिरिएका थिए । तपाई सजिलै काँग्रेसको संस्कारमा रुपान्तरित हुन सक्नुहुन्छ ?

रुपान्तरित हुन सकिन्छ भनेर पार्टी प्रवेश गरेको हुँ । अरुको बारेका मैले ठेक्का लिने कुरा भएन । उहाँहरु के कारणले जानु भयो, के कारणले निस्किनु भयो भन्ने कुरा मेरो बसको कुरा होइन । मेरो र मेरा साथीहरुको प्रतिबद्धता छ । हामी रुपान्तरित हुन्छौँ भनेर नै काँग्रेसमा गएका हौँ ।

तपाईँसँग काँग्रेसमा आएका नेताहरु जनाधार नरहेको र पार्टी सभापतिले ठूलो तामझाम गरेर प्रवेश गराएको भनेर काँग्रेसभित्र विवाद छ । यस्तो अवस्थामा तपाईलाई काँग्रेसमा घुलमिल गर्न चुनौती हुने देखिन्छ नि, होइन ?

चुनौती त जहाँ पनि हुन्छ । राप्रपामा बस्दा पनि चुनौती नै हुन्थ्यो । चुनौतीलाई सामना गर्नुपर्छ । मसँग आएका सबै साथीहरु जनमत भएकै छन् ।

बाबुराम बस्नेत भोजपुरमा चुनाव लडेका मान्छे हुनुहुन्छ । पछिल्लो चुनावमा उहाँले १ हजार मतले मात्र हार्नु भएको थियो । विश्वविक्रमजी पटक पटक चुनाव जितेर मन्त्री हुनु भएको मान्छे हो । रामकृष्ण भट्टराई विराटनगरको प्रधानपञ्च भइसकेको मान्छे हुनुहुन्छ । बृषलाल यादवजीको पनि ठूलो जनमत छ । हामीसँग आएका मान्छे जनमत भएकै हुनुहुन्छ ।

तपाईको समूहको प्रवेशले काँग्रेसलाई कुन ठाउँमा के राहत हुन्छ ?

अहिले हामी केन्द्रीय सदस्य र पूर्व केन्द्रीय सदस्यमात्र काँग्रेसमा आएका छौँ । जिल्लाबाट आउन बाँकी नै छ । सबै प्रक्रिया सकिएपछि काँग्रेसलाई कसरी बलियो बनाउछौँ, अहिले काल्पनिक कुरा गर्नु उचित हुँदैनजस्तो लाग्छ ।

काँग्रेस प्रवेश गर्दा के कस्तो सम्झौता गरेर आउनु भएको छ ? आगामी दिनमा राप्रपाबाट काँग्रेसमा आउनु चाहनेका लागि तपाईले के कस्तो सहजीकरण गर्नुहुन्छ ?

हामीले कुनै पनि लिखित प्रतिवद्धता गरेका छैनौँ । हामी विश्वासको भरमा काँग्रेसलाई नम्बर वान पार्टी बनाउने हिसाबले निःस्वार्थ पार्टीभित्र पसेका छौँ । पदका लागि पनि कुनै माग गरेका छैनौँ । हामी हालसालै काँग्रेसमा पदको राजनीति गर्न गएका होइनौँ । हामी सबैसँग मिलेरअघि बढ्छौँ ।

महाधिवेशनको मुखमा तपाईको प्रवेशले काँग्रेसमा एउटा पक्ष सशंकित देखिएको छ । उनीहरु मन कसरी जित्नुहुन्छ ?

ठूलो पार्टीमा जति मान्छे आयो, त्यतिनै फाइदा हुन्छ, घाटा हुँदैन । कोही सशंकित हुनुपर्ने आवश्यकता पनि छैन । हाम्रो आ–आफ्नो स्पेस नै हुन्छ । हामी काँग्रेसका सबैसँग विश्वासका साथ अगाडि बढ्छौँ । हामी कसैलाई सशंकित हुने ठाउँ पनि दिँदैनौँ, समय पनि दिँदैनौँ । त्यसले कसैलाई फाइदा गर्दैन ।

काँग्रेसका संस्थापक नेता बिपी कोइराला र तपाईका पिता सूर्यबहादुर थापाको सम्बन्धको पनि चर्चा हुने गरेको छ । त्यसलाई कसरी लिनुभएको छ ?

जीवनको लामो यात्रामा केही एपिसोडले मात्र बिपी र सूर्यबहादुरको सम्बन्ध राम्रो भएन भन्ने होइन । उहाँहरुबीच सम्बन्ध राम्रो नै थियो । बिपी कोइरालाले राजनीतिक उचाई लिइसकेका बेला बुबा त राजनीतिमा भरखर प्रवेश गर्नु भएको थियो ।

भोलिको दिनमा राप्रपा नै काँग्रेसमा समाहित हुने देख्नु भएको छ ? त्यो कति सम्भावना छ ?

यसबारे मैले केही पनि सोचेको छैन । यसबारे कमेन्ट गर्न सक्दिनँ ।

काँग्रेसमा तपाईहरुको व्यवस्थापन कहिलेसम्म हुने कुरा छ ?

यो सबै सभापतिज्यूलाई छोडिएको छ । उहाँले हाम्रो क्षमता र दक्षता अनुसार व्यवस्थापन गर्नुहुनेछ भन्ने विश्वास गरेका छौँ ।

तपाई वैदेशिक मामिलाको मसिनो ढंगले अध्ययन गर्ने नेता हो । वर्तमान सरकारको कुटनीतिक गतिविधिलाई कसरी नियाल्नु भएको छ ?

सरकारले असंलग्न परराष्ट्र नीति विपरीत उभिएर कुटनीतिक गतिविधि भइरहेको छ । सरकारले ठोस परराष्ट्र नीति लिएको छैन ।

जसले गर्दा छिमेकी र दातृ राष्ट्रहरुसँग केही असमझदारी भएको हो कि भन्ने देखिन्छ ।

यसले मुलुकलाई दीर्घकालीन रुपमा कस्तो असर पर्ने देख्नुभएको छ ?

यसले ठूलो प्रभाव पार्छ । तत्काल प्रभाव नदेखिए पनि विस्तारै अनेक किसिमका समस्या निम्त्याउँछ । त्यसलाई हामीले वुद्धिमतापूर्ण रुपमा लिन सकेनौँ भने भोलि ठूलो समस्या खडा हुन्छ ।

अन्तिमका केही भन्नु छ ?

नेपाल अहिले असहज परिस्थितिमा गुज्रिरहेको छ । सबै राजनीतिक दलमा समस्या छ । जनताले ठूलो आशा गरेको सत्तारुढ पार्टी पनि भताभुंग हुने अवस्था छ । साम्यवाद र अधिनायवादलाई रोक्ने शक्ति नेपाली काँग्रेस हो । विशेष गरेर राप्रपामा हुने सम्पूर्ण साथीहरुलाई शक्ति सन्तुलनका लागि नेपाली काँग्रेसमा आबद्ध हुन आह्वान गर्दछु ।रातोपाटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार