असार २२, २०८२ आइतबार July 6, 2025

रामचन्द्र पाैडेलले किन किचकिच गरिरहनुभएको छ ? मैले कुरा बुझिरहेको छैन : गोपालमान श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली काँग्रेसभित्र रडाको किन ? बेमौसमको बाजा तपाईहरू किन बजाइरहनु भएको छ ?

अब यो रडाको गर्नेले रडाको गरेका होलान् । नेपाली काँग्रेसमा खासै ठुलो रडाको केही छैन । केही साथीहरूलाई के लागिरहेको छ भने सभापतिले अब काम गर्न थाल्नुभयो । हामीले अहिलेसम्म रोकेका थियौँ । अब काम गर्न थाल्यो भनेर उहाँहरूलाई चिन्ता लागेको हो ।

अहिले आएर विभागहरू किन गठन हुनुपर्यो ? महाधिवेशनको मुखमा नचाहिदो कुरा गर्ने, पार्टी सभापति शेरबहादुर देउवाले भनेर भनेका छन् नि ?

महाधिवेशनको मुखमा भन्ने होइन । यो गठन गर्नुपर्ने विषय हो । धेरै पहिले गठन गर्नुपर्ने कुरा थियो । गठन गर्न सबै कुरा मिलाएर जानुपर्छ भन्दा यति समय लागेको हो । धेरै पहिलेदेखि नाम मागिएको थियो, पौडेलजी समुहलाई । ल तपाईहरूले विभागमा को-को साथीहरूलाई दिने हो ? नाम दिनुहोस् भन्दाखेरि आज-भोलि गर्दागर्दै महिनौ, वर्षौ बित्यो । अब बाँकी रहेको दिनहरूमा त काम गर्नुपर्यो नि ।

होइन अहिले किन काम गर्नुपर्यो ? अहिले त महाधिवेशनको लागि तयारीमा जुट्ने बेला हो पन । अब पार्टीको संगठन विस्तार गर्ने यो समय नै होइन । तपाईहरू त महाधिवेशनतिर जाँदै हुनुहुन्छ ? अहिले नै किन विभाग गठन गर्नुपरेको ?

महाधिवेशनतिर जाने कुरा छँदैछ । देशभरिको साथीहरूलाई चलायमान गर्नको निम्ति यो कोरोना नभएको भए आजभन्दा ५ महिना अगाडि नै हुन्थ्यो । कोरोनाको कारणले ४ महिना धकेलियो । त्यसैले अब बाँकी रहेका दिनहरूमा पनि धेरै संगठनहरू हुन्छ ।

पार्टीको महाधिवेशन भएको ३ महिनापछि गर्नुपर्ने काम साँढे चार वर्षपछि आएर गर्ने ?

मूल कुरा के हो भने सभापतिज्युले अत्यन्तै सौहार्दपूर्ण तरिकाबाट मसँग हारेजितेका सबै साथीहरूलाई सँगै लिएर जान्छु भन्दा यसको प्रतिफल यस्तो मिलेको हो ।

तर पार्टी सभापतिले गलत निर्णय गरिरहनु भएको छ । पार्टीभित्र आलोचना भईरहेको छ । रामचन्द्र पौडेल, शशांक कोइरालाले चेतावनी दिनुभएको छ । यदि हाम्रो प्रस्ताव अस्वीकार्य भयो भने पार्टीभित्र ठुलो दुर्घटना हुनसक्छ भन्ने उहाँहरुको चेतावनी छ नि ?

केही ठुलो दुर्घटना हुनेवाला छैन । पार्टीभित्र यति साथीहरू आकांक्षी छन् । ९९ प्रतिशत साथीहरू विभागमा बस्न चाहन्छन् । उहाँहरूले भनेर हुन्छ ? धेरै साथीहरू हामीलाई विभागमा राखिदिनुपर्यो भन्छन् । विशेषगरी म तपाईकै विभागमा बस्न चाहन्छु भन्ने धेरै साथीहरू छन् । साथीहरूको आकांक्षालाई उहाँहरूले मेटाउनुहुँदैन । उहाँहरूको लागि ४० प्रतिशत विभागीय प्रमुखहरू रोकेर राखिएको छ । विभागीय प्रमुख बन्न पनि त्यतिकै साथीहरू आँतुर छन् । उहाँहरूकै कारणले गर्दाखेरि उहाँहरूबाट नाम मागेका छौँ । ५० मध्ये २० जना साथीहरूको नाम दिनुहोस् भनिरहेका छौँ । उहाँहरूले नाम दिनुभएन ।

हिजो प्रस्ट रूपमा रामचन्द्र पौडेलले ५ बुँदे ज्ञापनपत्र बुझाउँदै विभिन्न बहानामा महाधिवेशन प्रभावित पार्न खोजिए सही नहुने चेतावनी दिनुभएको छ नि ?

सचिवालयमा सँगसँगै बसेर उहाँहरूले काम गरिरहनुभएको छ । अर्को महामन्त्रीले सही गरेर दिँदाखेरि मलाई अचम्म लागेको छ । सहमतिको नाममा सबै सिध्याउन खोज्नुभयो उहाँहरूले । अनुशासन समितिलाई पनि सहमति भनेर भागबण्डा गरेर दुई/चार जनाको मात्र कारबाही गरेर अरूलाई मुक्त गराउनुभयो । सहमतिको नाममा अहिलेसम्म नेविसंघले पूर्णता पाउन सकेको छैन । त्यसैले यो काम गर्न नदिने कुरा हात खुट्टा बाँध्ने काम गर्नुभएन ।

रामचन्द्र पौडेल र शशांक कोइरालाको एउटा तर्क आएको छः शेरबहादुर देउवाले आउने महाधिवेशनमा धाँधली गर्नको लागि अहिले व्यापक रूपमा अन्य पार्टीबाट आएका मानिसहरूलाई जिम्मेवारी दिने, विजयकुमार गच्छादारलाई आफ्नो बनाउने, राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर आउनुभएको सुनिलबहादुर थापालाई सहमहामन्त्री दिने, केन्द्रिय सदस्य बनाउने धेरै जनालाई, यो त गलत भयो भन्ने उहाँहरुको आरोप छ नि ?

अब हामीले डेमोक्रेटिक पार्टीहरूलाई नेपाली कांग्रेसभित्र ठुलो छाती गरेर भित्र्याउनुपर्छ । थुप्रै साथीहरूलाई ल्याउनुपर्छ । अब के भने पार्टी सिस्टममा गईसकेको अवस्था छ । आउन चाहने, प्रजातन्त्र, लोकतन्त्रमा आस्था र विश्वास राख्ने साथीहरूलाई रेड कार्पेट बिछ्याएर स्वागत गर्नुपर्छ । नेपाली कांग्रेसलाई मजबुत बनाएर आगामी चुनावमा नेपाली कांग्रेसले जनताको मन जितेर फेरि सत्तामा जानको लागि, मुलुकमा सुशासन दिनका लागि, शान्ति सुरक्षा व्यवस्था गर्नका लागि नेपाली कांग्रेस सबै पार्टीसँग हातेमालो गरेर, सबै पार्टीलाई एउटै छाताभित्र ल्याएर अगाडि बढ्नुपर्छ । अब हामी सीमित मान्छे मात्र भएर हुँदैन ।

यो निर्णय खारेज हुन्छ कि हुँदैन ?

कुनै निर्णय खारेज हुँदैन । हामी अझपनि स-सम्मानका साथ उहाँहरूको ४० प्रतिशत बाँकी राखेर विभागहरू पूर्ण गर्दैछौँ । त्यसो भए तपाईहरू निर्णय खारेज गर्नुहुन्न ? तत्काल बन्द गर्नुपर्छ भनेर रामचन्द्र पौडेलले भनिरहनु भएको छ अझैपनि ? अब यो विधानमा भएको व्यवस्थालाई किन उहाँहरूले किचकिच गरिराख्नु भएको छ ? संगठन बनाएर पार्टी मजबुत गर्ने कुरामा, साथीहरूको जुन इच्छा छ, त्यसलाई किन कुण्ठित गर्न खोजिराख्नुभएको छ ? त्यही कुरा मैले बुझिरहेको छैन ।

अन्य विभागहरू पनि गठन गर्नुहुन्छ अब ?

गर्छौ । त्यसमा कुनै शंका नै छैन ।

त्यसो भए पार्टी त अब चिरा–चिरा हुनेभयो, पार्टी त अब फुट्ने भयो ?

यो रबर तान्निदासम्म तान्निने हो, छिन्ने भएपछि छिन्न दिन्नौँ हामी । सभापतिजी धेरै झुक्नुभयो । सभापतिजीले धेरै प्रयत्न गर्नुभयो । तर सभापतिलाई काम गर्न उहाँहरूले दिनुभएन । सभापतिसँग एब्सोलुट बहुमत छ । तर उहाँले प्रयोग गर्नुभएन । हामीले भन्यौँ, डेमोक्रेसीमा बहुमतले शासन गर्ने हो । बहुमतको सदुपयोग गर्नुस् भन्दा उहाँले सबैलाई सँगै लिएर जाऔँ भन्दाभन्दै यो अवस्थासम्म पुर्याउने काम उहाँहरूबाट भएको हो । त्यसले गर्दाखेरि हामीले त धेरै सहेर बसेको हो । पार्टी धराशयी अवस्थामा पुगिसक्यो । अहिले पनि बचेको समय सदुपयोग नगर्ने हो भने कहिले गर्ने ?

अहिलेको अवस्थामा रामचन्द्र समुहले नाम नदिए पनि विभागहरू गठन हुन्छ ?

हुन्छ, अब कति कुर्ने । विभागहरू पनि गठन हुन्छ । उहाँले सहमतिको नाममा यो पार्टी, अनुशासनलाई सिध्याउनुभयो । डेमोक्रेटिक पार्टीमा २ जना नेताको चोचोमोचो मिल्दैमा सबैको चोचोमोचो मिलेको मान्न हुँदैन । हामीले हिजो दुबैको कुरा, तर्क सुन्यौँ । अब यो पार्टी मिलेर अगाडि बढ्छ । अब अगाडि बढ्न दिनुपर्छ । यसलाई रोक्न हुँदैन । यसलाई रोक्यो भने हामी निकै कमजोर हुन्छौं । हामी कमजोर हुने कुरामा जानुहुँदैन भन्ने कुरामा म विनम्रतापूर्वक आग्रह गर्छु । उहाँहरूले नाम दिनुस्, उहाँहरूका थुप्रै साथीहरूले इच्छा गर्नुभएको छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार