असार २५, २०८२ बुधबार July 9, 2025

दुई अध्यक्षका पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले नेकपा विवाद थप जटिल मोडमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पाँच दिनपछि संवादहीनता तोडिए पनि दुई अध्यक्षका पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले नेकपा विवाद थप जटिल बनेको छ । आइतबार र सोमबार भएका दुई अध्यक्षका वार्ता निष्कर्षविहीन भएका छन् । दुवै पक्ष एकअर्कामाथि दबाब बनाउने कोसिसमा पनि छन् ।

अहिलेसम्म प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग र दुवै पद नछाड्ने ओलीको अडानमा बल्झेको विवादमा अब नयाँ विषय पनि प्रवेश भएको छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट हल खोज्ने भन्नेमा उनीहरुबीच थप विवाद भएको छ । यसमा दुवै समूहका आ-आफ्ना रणनीति र एकअर्कामाथि दबाब बनाउने योजना पनि लुकेका छन् ।

पछिल्ला संवादमा अध्यक्ष दाहालले स्थगित भएको स्थायी कमिटी बैठकको तत्काल मिति तोक्न र केन्द्रीय कमिटी बैठक बोलाएर समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । उनले लामो समय बैठक स्थगित गर्दा सन्देश राम्रो नजाने बताएका थिए ।

तर, ओलीले पहिला सचिवालयमा छलफल गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठकको मिति तय गर्नुपर्ने अडानमा छन् । केन्द्रीय कमिटी बैठक तत्काल सम्भव नभएको ओलीले जवाफ दिएका थिए । बरु, ओली सवै विवाद यस अघि केन्द्रीय कमिटीले तय गरेको चैत्रको महाधिवेशनमा लगेर टुंगाउने योजनामा छन् ।

सचिवालय र महाधिवेशनबाट विवादको समाधान खोज्ने प्रस्तावमा ओलीका दुई रणनीति रहेको दाहालपक्षको बुझाइ छ । पछिल्लो समय सचिवालयमा ओलीको बहुमत छ । उपाध्यक्ष वामदेव गौतमले ओलीलाई सहज हुने गरी ६ बुँदे प्रस्ताव अगाडि सारेपछि सचिवालयमा ओलीको बहुमत छ ।

सचिवालय सदस्य रामबहादुर थापा पनि तत्काल पार्टी विभाजन रोक्न ओलीलाई हटाउन नहुने तर्क अगाडि सारेका छन् । यसरी सचिवालयमा छलफल हुँदा तत्काल ओलीका पक्षमा निर्णय हुने अवस्था छ । यसैले ओली सचिवालय बैठक बसाल्ने अडानमा छन् ।

यसबाहेक ओलीको अर्को रणनीति ‘अर्ली’ महाधिवेशन वा नियमित महाधिवेशनबाट शक्ति बाँडफाँडको पक्षमा छन् । विवादलाई महाधिवेशनतिर मोड्न सके तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्न नपर्ने ओलीको बुझाइ छ । ओलीको यही रणनीति बुझेर दाहाल नेपाल समूहले मंसिरमा ‘अर्ली’ महाधिवेशन गर्ने ओलीको प्रस्ताव अस्वीकार गरिसकेको छ ।

उता दाहाल र वरिष्ठ नेता नेपाल समूह स्थायी र केन्द्रीय कमिटीबाट नै निकास खोज्नुपर्ने पक्षमा छ । गौतम र थापा ओलीतिर लागेपछि दाहाल–नेपाल समूह सचिवालयमा अल्पमतमा छ । तर, स्थायी र केन्द्रीय कमिटीमा उनीहरुको बहुमत छ । त्यसकारण सबै विवाद स्थायी र केन्द्रीय कमिटीमा लैजाने तयारी यो समूहको छ ।

पछिल्लो पटक साउन १३ मा दाहाल नेपाल समूहले गरेको स्थायी कमिटी बैठकमा २९ सदस्य सहभागी थिए । ४४ सदस्यीय स्थायी कमिटीमा यो सुविधाजनक बहुमत अंक हो ।

तर, असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक-पटक स्थगित भएको छ । बैठक अनिर्णयको बन्दी भएको भन्दै नेताहरुकै असन्तुष्टि छ । बरु, साउन १३ मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले बहुमत सदस्यको बैठक गरेका थिए ।

दाहालले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि ओली र दाहालबीच संवाद नै टुटेको थियो । पाँच दिनपछि उनीहरुवीच साक्षी राखेर आइतबार छलफल भएको थियो ।

यसबाहेक ओलीमाथि दबाब बनाउने रणनीतिअनुसार दाहाल नेपाल समूह केन्द्रीय कमिटी बैठकको पक्षमा छ । यो समूहका एक सय ५२ जना सदस्यले केन्द्रीय कमिटीको बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा पत्रसमेत दर्ता गराएका छन् । केन्द्रीय सदस्यको एक चौथाई नेताले माग गरेमा एक महिनाभित्र बैठक बोलाउनपर्ने पार्टी विधानमा छ । तर, ओली तत्काल केन्द्रीय कमिटी बैठक नबोलाउने पक्षमा उभिएका छन् ।

स्थायी वा केन्द्रीय कमिटीको बैठक बसे आफू अनुकूल निर्णय हुने दाहाल र नेपाल समूहको विश्वास छ । त्यसैले यो समूह जसरी पनि स्थायी वा केन्द्रीय कमिटी बस्नुपर्ने अडानमा छ । पार्टी बैठकबाहेक नेकपामा अंकगणितको हिसाब संसदीय दलमा समेत छ । संसदीय दलमा अहिलेसम्मको अंकगणितमा ओली झिनो मतले अल्पमतमा छन् । यद्यपि पूर्व माओवादी समूहका केही नेताहरुको साथ पाएको ओली समूहले संसदीय दलमा आफूहरु बहुमतमा रहेको दाबी गरेको छ ।

तर, दाहाल नेपाल समूह संसदीय दलमा आफूहरुसँग बलियो बहुमतमा रहेको दाबी गर्छ । ओली र दाहालबीचको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका दाहालले छलफलका लागि वरिष्ठ नेता खनाललाई लगेका थिए भने ओलीले नेम्वाङलाई राखेका थिए । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि नेताहरु छलफलबाट उठेका छन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार