असार २७, २०८२ शुक्रबार July 11, 2025

सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक जस्ताको तस्तै पारित नहुने महामन्त्री शर्माको दाबी

“सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताउनुभएको छ ।

आज आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गर्नुभयो ।

“नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,” महामन्त्री शर्माले भन्नुभयो, “सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”

उहाँले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उहाँले बताउनुभयो ।

महामन्त्री शर्माले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसङ्गमा उक्त घटनापछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको बताउनुभयो ।

“घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ”, उहाँले भन्नुभयो, “तर, दोषीमाथि कारबाही हुनुप-यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन् । उनीहरुले आफूहरु असुरक्षित भएको बताइरहेका छन् ।”

उहाँले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया