असार २७, २०८२ शुक्रबार July 11, 2025

एमालेमा दक्षिणपन्थी र व्यक्तिवादी प्रवृत्ति हाबी भएको माधव नेपालको दाबी

एमालेमा दक्षिणपन्थी र व्यक्तिगत प्रवृत्ति हाबी भएकोले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेको नीति कार्यक्रम मुलुकको विकासमा बाधक रहेको आरोप लगाएका छन्। उनले ११ औँ जिल्ला अधिवेशनको अवसरमा मायादेवी गाउँपालिकाको पकडी आयोजित बृहत् सभा र पार्टी प्रवेश कार्यक्रममा बोल्दै भने, “एमालेमा अहङ्कारी र घमन्डी प्रवृत्ति हाबी हुँदा मुलुकले विकासको गति पाउन सकेको छैन।”

उनले थपे, “एमालेमा दक्षिणपन्थी र व्यक्तिगत प्रवृत्ति हाबी भएकोले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त छ। यो सरकारलाई जनताको कामसँग कुनै मतलब छैन। यस सरकारको उद्देश्य भनेको मात्र आफ्नो स्वार्थ र फाइदा हो, जसका कारण जनतामा निराशा फैलिरहेको छ।”

पूर्व प्रधानमन्त्री नेपालले देशको समग्र परिस्थितिका लागि समाजवादी मोर्चा गठन गरेको बताए। उनले सोही सभामा उपेन्द्र यादवलाई परिस्थितिअनुसार अघि बढ्न सुझाव दिएका थिए। नेपालले भने, “हामीले समाजवादी मोर्चा बनाएर अघि बढेर परिवर्तनकारी शक्ति बनेर इतिहास रचना गर्नु पर्छ।”

यस कार्यक्रमको क्रममा, नेपालले हिन्दी भाषामा चार फरक सायरी पनि प्रस्तुत गरेका थिए। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेयले पनि वर्तमान सरकारको आलोचना गर्दै स्वेच्छाचारितामा चलिरहेको आरोप लगाए।

अध्यक्ष नेपालले नेकपा माओवादी पार्टी परित्याग गरी आएका संविधानसभा सदस्य रामलौटन तिवारी, मायादेवी गाउँपालिकाका पूर्व उपाध्यक्ष गीता तिवारी र सुरेन्द्र तिवारी लगायतका नेता र कार्यकर्तालाई फूलमाला लगाएर पार्टी प्रवेश गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया