काठमाडौँः एमालेले पार्टीको जनसंगठनको केन्द्रीय कमिटी सदस्यको संख्या घटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसंगठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसंगठनको केन्द्रीय कमिटी संख्या ९९ सदस्यीय राख्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले जनसंगठनलाई व्यवस्थित गर्नका लागि अब हुने महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य संख्या घटाउने निर्णय गरिएको बताए ।
यसैगरी, बैठकले जनसंगठनका पदाधिकारी संख्या पनि घटाएको छ । यसअघि १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको थियो । महासचिव पोखरेलका अनुसार जनसंगठनका पदाधिकारीलाई नौ राख्ने र त्यसमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित दुई, महासचिव एक, उपमहासचिव एक, सचिवहरुमा (प्रचार, विदेश विभाग र संगठन) हेर्ने गरी तीन र कोषाध्यक्ष एकजना राख्ने निर्णय गरेको छ ।
यसैगरी, बैठकले जनसंगठनमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहने व्यवस्था गरिएको छ । ‘यसअघि जनसंगठनमा केन्दीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्रै रहने गरी निर्णय भएको छ,’ उनले भने । बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।
प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक र प्रदेशका पदाधिकारी र इन्चार्जसहित संयुक्त भेला आयोजना गरेर नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने निर्णय गरेको छ ।
यस्तै पार्टी सम्बन्ध विभागलाई सरकारको नीति तथा कार्यक्रममा आगामी चैत १५ गतेभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पार्टीले विदेश भ्रमणका लागि मापदण्ड बनाएको छ ।
‘विदेश भ्रमण जानपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र कुन संस्था कुन प्रयोजनका लागि आयोजना गरेको हो । त्यो पर्याप्त जानकारी दिनुपर्ने र विदेश भ्रमण भइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि आफ्नो भ्रमणका बारेमा प्रतिवेदन पार्टीलाई बुझाउनुपर्ने विषय मापदण्डमा राखिएका छन्,’ उनले भने ।
यस्तै, बैठकले नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले कम्युनिष्ट योद्धा सम्मान गर्ने भएको उनले जानकारी दिए ।
बैठकले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सदस्यमा मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको छ । यस्तै पार्टीले ताप्लेजुङको पाथीभरामा बन्न थालेको केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धितलाई आग्रह गरेको छ ।
महासचिव पोखरेलले पाथीभरा मन्दिर केबुलकारका सम्बन्धमा भएको विवाद समाधान गर्नका लागि स्थानीय जनप्रतिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समाधान गर्न आग्रह गर्दै केबुलकार बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षलाई भूमिका खेल्न आग्रह गरे ।
बैठकले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालका धर्मपत्नी शान्ति वडालको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया