बैसाख ७, २०८२ आइतबार April 20, 2025

संसद्‌मा संविधान र गणतन्त्रविरुद्धका अभिव्यक्ति नियन्त्रण गर्नुपर्छ : सभामुख, देवराज घिमिरे (अन्तवार्ता)

सातै दिनभित्र सांसदबाट उठेका कुराको जवाफ दिने कुराको विकास हुन सकिरहेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यस पटकको संसद्को हिउँदे अधिवेशन ढिलो सुरु भएर छिट्टै अन्त्य भयो, किन होला ?

पहिले पनि सामान्यतः चैतको दोस्रो सातामा हिउँदे अधिवेशन बन्द हुन्थ्यो । हठात् बन्द भएको होइन । थोरै दिन अरू चल्न सक्थ्यो । केही दिन चल्दा थप विधेयकहरू पारित हुने सम्भावना रहन्थ्यो । बजेट भाषणभन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा संसद्ले सरकारलाई सुझाव दिइसक्नुपर्ने प्रबन्ध छ।

सधैं सरकारले प्रि–बजेट छलफल गराउने, अनि नीति र कार्यक्रम ल्याउने त्यसपछि बजेट पेस गर्ने हुन्थ्यो । त्यो सुल्टो भएन भनेर पहिला नीति तथा कार्यक्रमाथि छलफल हुने भएको छ । नीति कार्यक्रम आएपछि मात्रै बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने सरकारको तयारी छ । यसका लागि हिउँदे अधिवेशन लामो लगियो भनेपछि समय मिलाउन अप्ठ्यारो हुन्छ भन्ने सरकारको तर्क रह्यो ।

अधिवेशन चालु अवधि ६१ दिनमा २७ बैठक मात्र बसे । ५ वटा अध्यादेशसहित ११ वटा विधेयक मात्र पारित भए । एउटा अधिवेशनको उपलब्धि यत्ति मात्रै हुनुपर्ने हो र ?

६१ दिन चल्दा बीच–बीचमा अवरोध पनि व्यहोर्नुपर्‍यो । ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने बेलामै संसद् अवरोध भयो । त्यसले असर गर्‍यो । अवरोध नभएको भए अरू तीनवटा विधेयक पास हुन सक्थे ।

तपाईंको विदेश–यात्राका कारण अधिवेशन छिट्टै अन्त्य गरिएको कुरा पनि सुनिन्छ नि ?

होइन, मेरो विदेश–यात्रा अधिवेशनको अन्त्य गर्ने कुरासँग कुनै सम्बन्धित नै छैन । विगतमा संसद् चल्दा चल्दै म दुई पटक विदेश गएको छु । संसद् अधिवेशन कसरी जाने भन्ने सरकारको योजना र सोचमा पनि आधारित हुन्छ ।

प्रधानमन्त्रीले माघ १८ मा संसद्‌मा बोल्दा एउटा विधेयक पारित गर्न आधा दशकभन्दा बढी समय लगाइरहेको गुनासो गर्नुभएको थियो । यस घटनालाई तपाईंले कसरी लिनुहुन्छ ?

संसद्ले कानुन बनाउने कुरा उसको कर्तव्य हो । कानुनलाई समयभित्र सामूहिक ढंगबाट दिन सकेन भने शासन सञ्चालनमा असर गर्छ नै । तर, निश्चित समयभित्र कानुन पारित गर्नुपर्छ भन्ने कुनै प्राविधिक कुरामा आधारित भएर मात्रै कानुन निर्माण गर्नु कार्य व्यावहारिक र उचित हुँदैन । कुनै कानुन लामो अवधिसम्म पारित भएन भने के कारणले त्यो भएको हो ? त्यसको खोजी गरिनुपर्छ ।

संसद्ले काम नगरेर हो ? राजनीतिक पार्टीहरूबीचको सहमतिको अभावमा वा राजनीतिक पार्टीहरूको शक्ति सन्तुलनमा आएको परिवर्तनले गर्दा ढिलाइ भएको हो ? त्यो खोजिनुपर्छ । सबै कुराहरू नमिलीकन, नमिलाईकन विधेयकमाथि काम अगाडि बढाउन समस्या भइराखेको हुन्छ । जस्तो कि, निजामती सेवासम्बन्धी विधेयक अघिल्लो संसद्मै पेस भएको थियो । लामो अवधि संसद्‌मा थियो । एक ढंगले अगाडि बढेको थियो । तर, पारित भएन । संसद्कै अवधि सकियो । फेरि अहिले आयो । अहिले पनि लामो समय लाग्यो । त्यसमा धेरै पक्ष जिम्मेवार हुन्छन् ।

कानुन निर्माण प्रक्रियामा संसद्भित्र सरकारको भूमिका कस्तो पाउनुभएको छ ? कतिपय विधेयकलाई सरकारले नै अगाडि बढाउन नचाहेको देखिन्छ नि ?

सरकार सहमत नभएको कानुन पारितै हुन सक्दैन । सरकार संसद्ले बनाएको हो । संसद्‌मा उसको बहुमत हुन्छ । संसद्प्रति सरकार उत्तरदायी छ भन्नुको मतलब संसद्‌मा सरकारको बहुमत छ भन्ने कारणले हो । सरकारले विधेयक अघि नबढाऊँ भन्दाभन्दै संसद्ले कुनै विधेयक अगाडि बढाएको स्थितिमा फेल हुन्छ । सरकार र संसद् छुट्टैछुट्टै हो भन्ने बुझाइ छ ।

शक्तिका हिसाबले अलगअलग भए पनि सम्बन्धका हिसाबले एकअर्कामा सम्बन्धित हुन्छन् । किनभने सरकार नै संसद्‌मार्फत बनेको हुन्छ । सरकार सहमत नभईकन कानुन पास गर्ने कुरा कठिन हुन्छ । त्यसको अर्थ संसद् सरकारको छाया होइन । तर, संसद्‌मा सरकारको बहुमत हुने भएकाले सरकारले चाहेको कुरालाई स्विकारेर जाने स्थिति रहन्छ ।

सैद्धान्तिक रूपमा व्यवस्थापिकाले कानुन बनाउने, कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने र न्यायपालिकाले त्यसको व्याख्या गर्ने कुरा गरिन्छ । तर, सरकारले नचाहँदासम्म कानुन नबन्ने स्थितिलाई कसरी बुझ्ने ?

कुरा त्यही हो । व्यवस्थापिकाले कानुन बनाउने हो । कार्यपालिकाले कार्यान्वयन गर्ने नै हो । तर, कानुन कसले लिएर आएको छ ? सरकारले लिएर आएको छ । अब उसले त्यो कानुनमा आफूले चाहेको कुरा भयो भने मात्रै पास गर्न चाहन्छ । नभए त गर्दैन ।

अघिल्लो संसद् सकिँदै गर्दा २१ वटा यस्ता विधेयक बाँकी थिए । जसमा सरकार र संसद्को ठूलो समय लगानी भइसकेको थियो । तर, समयमा त्यसमाथि निर्णय भएन । अहिले पनि विधेयकहरूलाई पारित गर्न ढिलाइ भइरहेको छ । त्यसले भोलि फेरि त्यस्तै परिणाम आउला नि ?

विगतमा प्रतिनिधिसभाको अवधि सकिएसँगै विधेयक स्वतः निष्क्रिय हुने प्रावधान थियो । शून्यमा जाने स्थिति थियो । अहिले संसद्ले पहिला बाँकी रहेका कामहरूलाई स्वामित्व लिएर अगाडि बढाउन सक्ने प्रावधान छ । त्यसले विधेयकलगायत अरू कतिपय कुराले निरन्तरता पाउन सक्ने बाटो खोलेको छ ।

संसद् एउटा अविच्छिन्न संस्था हो, त्यस कारणले पुराना कुरालाई लिएर जाने परिपाटीको विकास गर्न सकिन्छ । नयाँ संसद्ले पुरानो कुरालाई लिएर जान चाहँदैन भने पनि छलफल पनि हुन सक्छ । तर, आफ्नो अवधिमा सक्नुपर्ने कामलाई छोड्न भने हुन्न । कम्तीमा समयभित्रै काम भने गर्नुपर्छ । त्यसका लागि क्यालेन्डर मिलाउनुपर्‍यो ।

तपाईं स्वयंले समितिका सभापतिहरूलाई विधेयकलाई प्राथमिकता दिएर छिटो टुंग्याउन पटक–पटक ताकेता र ध्यानाकर्षण गराएको देखियो । त्यसले कस्तो परिणाम दियो ?

के कारणले रोकियो ? के पुगेन ? के गर्दा हुन्छ ? भनेर लाग्दा केही काम त भयो । तर, त्यतिले मात्रै पुग्दो रहेनछ । के कुराले रोकिएको छ, त्यो कुराको गाँठो नफुकाईकन नहुने भयो । घचघच्याएर गति त लिन्छ । तर, निष्कर्षमा पुगिहाल्दैन । गतिरोध पत्ता लगाएर त्यसलाई छिचोल्ने काम राजनीतिक दलकै बीचको सहमति चाहिँदो रहेछ । नेताको बीचमा सहमति नहुँदा कतिपय विधेयक समितिमै घुमिरहने हुन्छ । कतिपय अवस्थामा दलमार्फत अगाडि बढाएपछि गति लिँदो रहेछ । दलको नेतृत्व तहबाट पहलकदमी लिएको अवस्थामा समितिहरूले चाँडै परिणाम दिन सक्ने क्रियाशील हुने पनि देखिएको छ ।

यति बेला देशभरका शिक्षकहरू विद्यालय शिक्षा कानुनको माग राख्दै सडक आन्दोलनमा छन् । त्यस्तै, निजामती सेवासम्बन्धीजस्तै अन्य संघीयता कार्यान्वयनसँग जोडिएका प्रत्यक्ष कानुन आएन भन्दै प्रदेश सरकारहरूको निरन्तर विरोधको स्वर सुनिन्छ । सरकारले विधेयक संसद्‌मा छ भन्दै संसद्तिर देखाएर पन्सिन्छ । यसले संसद्को भूमिकामाथि धेरैतिरबाट प्रश्न उठ्न थालेको छ नि ?

संसद्‌मा बहुमत हुने भएकाले सरकारमा उसको भूमिका बढी हुन्छ । अब कुनै पनि विधेयकमा सहमतिमा पुग्न सरकार र दलहरू कति तयार हुने ? यो महत्त्वपूर्ण हुन जान्छ । गतिरोध भनेको बैठक रोकिनु, बहिस्कार गरिनु मात्रै होइन । समितिका काम कारबाहीमा निर्णय निकाल्न नसक्नु निष्कर्षमा पुग्न नसक्नु पनि हो । यी कुराहरूमा सबै पक्ष जिम्मेवार भएर जानुपर्छ । सरकार भन्छ– संसद्ले कानुन दिएन । संसद् भन्छ– निकास निकाल्न सरकार अग्रसर भएन । यी दुईवटै कुरा गाँसिएका विषय हुन् । त्यही भएर दोषारोपण होइन कि, आफ्नो दायित्व पूरा गरेर निष्कर्ष निकाल्नतर्फ लाग्नुपर्छ ।

संविधानले प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रिय सभाले निश्चित समयभित्र फिर्ता पठाइसक्नुपर्ने भनेको छ । तर, त्यही कुरा राष्ट्रिय सभाले पठाएको विधेयकका सन्दर्भमा प्रतिनिधिसभाका लागि समय तोकिएको छैन । प्रतिनिधिसभा आफैंले एउटा समय तालिका तोकेर जान सक्दैन ?

त्यस सन्दर्भमा चर्चा, छलफलहरू चलेका छन् । तर, सकभर बाध्यकारी परिस्थिति निर्माण नगरी समयभित्रै सक्ने परिपाटीको विकास हुँदा राम्रो । समय निर्धारण गर्नु कति उचित अनुचित भन्ने कुरा चलिरहेको छ ।

सरकारलाई जवाफदेही बनाउन संसदीय समितिले भूमिका खेल्न सक्छ । तर, समितिहरूले पनि प्रभावकारी काम गर्न सकेका छैनन् नि ? सार्वजनिक लेखा समिति नै सक्रिय हुन नसकेको देखिन्छ नि ?

समितिहरूको कामले संसद्को प्रभावकारिता दर्साउँछ । त्यसलाई प्रभावकारी बनाउन कामहरू गरिरहेका छौं । सदन अवधिभरि त्यहाँ संलग्नता हुने । अधिवेशन सकिएपछि आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने परिस्थितिले पनि अलि समय मिलाउने कुरामा समितिहरू भनेको जस्तो प्रभावकारी नदेखिएको हुन सक्छ ।

अर्को समितिलाई थप प्रभावकारी बनाउन उसलाई चाहिने आर्थिक, व्यावहारिक, वैचारिक र नीतिगत मद्दतको कमीले पनि असर पारेको हुन्छ । समितिले गरेका कतिपय निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्ने निकायले तदारुकताका साथ कार्यान्वयन गर्ने र परिणाम दिने कुरामा भएका कमीका कारणले पनि समितिहरू प्रभावकारी नभएका हुन सक्छन् । संसद्को प्रभावकारिता भनेकै समितिहरूकै काम कारबाहीसँग जोडिन्छ । संसदीय समितिहरूलाई गतिशील बनाएर लाने, अप्ठ्याराहरू के हुन भन्ने पहिचान गरी कसरी गतिशील बनाउने भन्नेमा ध्यान केन्द्रित गर्दै छौं ।

समितिहरू मुख्य जिम्मेवारीबाट भड्किएर अरू काममा नै व्यस्त भएको महसुस भएको छैन ?

कतिपय समितिहरू भड्काउमा पनि छन् । वैचारिक रूपबाट समितिहरूले गर्नुपर्ने काम के हुन् ? भन्ने स्पष्ट भएर जाने कुराहरूलाई दिशानिर्देशको अभावमा त्यस्तो हुन खोजेको छ । त्यसलाई हामीले ठाउँमा ल्याउने कोसिस गरिरहेका छौं ।

सांसदहरूले संसद्‌मा बोलेका कुराले महत्त्व नपाएको, सरकारले सुनुवाइ नगरेको भन्ने गुनासो छ नि ?

यसका दुईवटा पक्ष छन् । मागमा आधारित अभिव्यक्ति सांसदका हुन्छन् । सरकारले ती माग पूरा गर्न आफ्ना सीमा र योजनाका कारणले सम्भव हुँदैन । सांसदले यो बाटो निर्माण गर्नुपर्‍यो भन्नुहुन्छ तर त्यो निर्माण हुन सक्दैन । त्यो सरकारको क्षमता र योजनाको कुरा हो । तर कतिपय प्रश्न, जानकारी सार्वजनिक गरियोस् भन्ने कुराहरू छन् । यस्ता कुराहरूमा भने राज्यले सांसदले उठाएका कुराप्रति बेवास्ता गर्छ । यी दुईवटा कुरालाई फरक ढंगबाट हेर्नुपर्छ र सरकारले पनि यस्ता कुराहरूमा तुरुन्त रेस्पोन्स गर्नुपर्छ ।

तुलनात्मक ढंगबाट अहिले सरकारले रेस्पोन्स गर्ने र मन्त्रीले प्रस्ट कुराको विकास भएको छ । ७ दिनभित्र जवाफ दिनुपर्छ भन्ने प्रबन्ध छ । सातै दिनभित्र सांसदबाट उठेका कुराको जवाफ दिने कुराको विकास हुन सकिरहेको छैन ।

संसद्ले गरेका निर्देशन सरकारले कार्यान्वयन नगरिरहेको अवस्थामा संसद्ले नै कडाइपूर्वक पहलकदमी लिनुपर्ने हो कि ?

संसद् जनताको प्रत्यक्ष केन्द्रित थलो हो । जनताका माग र चाहना जे हुन् ती अभिव्यक्त हुने थलो हो । सांसदले जनताका चाहना आवश्यकता कार्यान्वयन होस् भनेर उठाउँछन् । ती कुराहरूलाई कार्यान्वयन गर्ने क्षमता के छ सरकारको ? सरकारले आफ्नो क्षमताभन्दा अगाडि बढेर त काम गर्न सक्दैन । यो बीचको अन्तरविरोधले पनि यी कुरा भएका हुन्छन् । सरकारका काम क्षमता र आर्थिक अवस्थाका सीमा छन् । यी कुराहरू र मागको बीचमा मेल खाँदैन ।

यो अधिवेशनमा तपाईंले सांसदलाई बोल्न दिने मामिलामा उदारता देखाउनुभएन भन्ने प्रश्न उठेका छन्, यसलाई कसरी समीक्षा गर्नुभएको छ ?

हाम्रो संसद्‌मा बोल्ने कुरालाई नियन्त्रण गर्ने होइन, विधि र संविधानको दायराभित्र कसरी लाने भन्ने समस्या छ । विधि, विधान परिपाटीभन्दा बाहिर गएर बोल्ने काम सांसदहरूबाट भइरहेको छ ।

आकस्मिकलगायतका समयमा तपाईंले बोल्न दिनुहुन्न भन्ने आरोप सांसदले लगाउने गरेका छन् नि ?

आकस्मिक समय कुनै परिपाटीअन्तर्गत बोल्ने होइन । केही आकस्मिक आइलागेको छ र सदनलाई जानकारी गराउनै पर्ने हो भने बोल्ने हो । तर, मैले आकस्मिक समयमा नबताई नहुने भयो भनिन्छ अनि देशमा भ्रष्टाचार भइरहेको छ, सुशासन भइरहेको छैन भन्छ । अब त्यो सुशासन भएन, भ्रष्टाचार भयो भन्नेजस्ता कुरा बोल्नका लागि अरू नै समय छन् । कसैले पनि बोल्न चाहन्छ भने के विषयमा बोल्न चाहेको हो त्यो विषयको पूर्वजानकारी हुनुपर्‍यो र समय दिने कि नदिने भन्ने हुनुपर्‍यो ।

भनेपछि, सांसदले बोल्ने कुरा आकस्मिक हो कि होइन भन्ने कुरा सभामुखलाई लाग्नुपर्‍यो ?

त्यो विषय आकस्मिक हुनुपर्‍यो । सभामुखलाई के लाग्नेभन्दा पनि विषय सामयिक र आकस्मिक हुनुपर्‍यो । बोल्न अनुमति दियो, सामयिक र आकस्मिक विषय भइदिँदैन । यस विषयमा बोल्छु भनेर समय लिने तर विषय अर्कै बोलिदिने भएपछि त समयको दुरुपयोग बढेर गयो ।

लगातार १० बैठकमा अनुपस्थित सांसदको पद रिक्त हुने संवैधानिक व्यवस्था छ । सहकारी ठगीमा सांसद फरार छ, अदालतले पक्राउ पुर्जी जारी गरेर सुरक्षा संयन्त्रले खोजिरहेको छ । तर संसद्ले फरार सांसदलाई उपचार बिदामा रहेको भनेर बिदा स्वीकृति गरी तलबभत्ता उपलब्ध गराइएको छ नि ?

को फरार छ, को बिरामी छ, कसलाई मुद्दा लागेको हो भन्ने कुराको जानकारी संसद्लाई भयो भने न थाहा हुने हो । कसैको बिरामी बिदा आयो अब यो साँच्चै बिरामी हो कि बहाना गरेको हो ? अस्पतालमा छ कि घरमा ? भन्ने सबै कुराको सोधीखोजी गर्ने निकाय यो होइन । एउटा सांसदले बिरामी छु, बिदा चाहियो, विदेशमा वा स्वदेशमा काम छ भनेर पत्र आयो भने उसलाई मुद्दा परेर हो कि के भएर हो भन्ने संसद्लाई जानकारी हुँदैन ।

सांसदविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको र प्रहरीले छानबिन गरिरहेको कुरा सार्वजनिक नै हुन्छ । त्यो व्यक्तिले राज्यका निकायलाई अनुसन्धानमा सहयोग नगरेको पनि देखिन्छ । यस्तो अवस्थामा संसद्लाई जानकारी हुने प्रक्रिया के हुन्छ ?

कसले के गरिरहेको छ भन्ने अनुसन्धान गर्ने संस्था संसद् होइन । कोही सांसद के गर्दै छ भन्ने कुरा संसद्भित्रको गतिविधिमा ऊ के बोल्दै छ, के गर्दै छ, उसको भनाइ के हो भन्ने कुरासम्म मात्रै उसको कुरा हो । बाहिर के भएको छ भन्ने कुराको आधिकारिक जानकारी संसद्लाई हुनुपर्‍यो अनि उसले थाहा पाउँछ ।

को–को फरार छन् भन्ने कुराको जानकारी हामीलाई हुने गरेको छ । फरार भएकालाई फरार भनेर पत्र आउँछ । गिरफ्तार भएकालाई गिरफ्तार भनेर पत्र आउँछ । यस्तो आएपछि हामीले थाहा पाउने कुरा हो । थाहा पाएपछि के गर्ने भन्ने संसद्को कुरा हो । तर त्यो नआउँदा त थाहा पाउने कुरा भएन ।

विद्यालय शिक्षा विधेयकका लागि भनेर शिक्षक सडक आन्दोलनमा छन् । संसदीय समितिमा विचाराधीन यो विधेयक कति समयमा टुंगो लाग्छ र आगामी अधिवेशनबाट पारित हुन्छ ?

आगामी अधिवेशनको पहिलो प्राथमिकता त बजेट नै हो । यो सँगसँगै प्राथमिकतामा विद्यालय शिक्षा विधेयक पनि छ । यो विधेयक ल्याउनैपर्छ । यसका लागि आन्दोलन पनि भइरहेको छ । यो आन्दोलनले प्रतिगमनकारीहरूलाई पनि परोक्ष साथ दिने स्थिति हुन्छ । त्यस कारणले म त सभाको सञ्चालन गर्ने जिम्मा पाएको सभामुखको नाताले पनि शिक्षकहरू, जो सडकमा आउने परिस्थिति छ, यसलाई अविलम्ब अन्त्य गरिनुपर्छ । उहाँहरूलाई आश्वस्त गरिनुपर्छ कि विधेयक धेरै अगाडि बढिसकेको छ ।

विधेयक आउनुभन्दा अगाडि उहाँहरूका सहमति विमति अप्ठ्यारा के हुन्, ती कुरा बुझ्नुपर्छ । उहाँहरूको अहिलेको माग कानुन चाहियो कानुन अभावमा अप्ठ्यारो पर्‍यो भनेर जे कुरा गरिरहनुभएको छ, प्रायः उहाँहरूका माग त समेटेर नै आएको छ । तपाईंहरूको कानुन छिट्टै आउँछ भन्ने कुरामा मैले नै आश्वस्त गरेर पठनपाठनमा फर्कनोस् र प्रभावकारी शिक्षा दिने वातावरणमा सहयोग गर्नुस्, अविश्वास नगर्नुस् भन्नुपर्ने स्थिति छ ।

आफ्नो सांसद पद निलम्बन फुकुवा गरी माग्दै रास्वपाका सभापति रवि लामिछानेले तपाईंलाई यो बीचमा दुई पटक भेटे । ती भेटमा के कुरा उठे ?

संसद्ले उहाँलाई निलम्बन गर्ने वा नगर्ने भन्ने कुराहरू नेपालको कानुनी व्यवस्थाले के भन्छ, त्यही कुरा कार्यान्वयन गर्ने हो । उहाँलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा लाग्यो त्यो मुद्दा चलेपछि सांसद पद निलम्बन हुन्छ, त्यो निलम्बन भएको जानकारी गराउनुपर्छ भन्ने व्यवस्था छ, त्यही जानकारी गराइएको हो ।

जनमत पार्टीले पनि आफ्नो सांसदलाई पदमुक्त गरेन भनेर गुनासो गरिरहेको छ, त्यसलाई कसरी हेर्नुभएको छ ?

के–के गरेमा पदमुक्त हुन्छ भन्ने कानुनी प्रबन्ध छ । राजनीतिक दल, निर्वाचनसम्बन्धी ऐनले के गर्दा सांसद पद रिक्त हुन्छ भन्ने प्रस्ट छ । त्यो गरेमा पद गइहाल्छ । त्यो नगर्दाखेरी त हटाइमागेर, हटाई पाउँ, यस्तो–उस्तो गर्‍यो भनेर चाहना गरेर, आवाज निकालेर, रोएर कराएर या विरोध गरेर हट्ने होइन । कानुन बुझ्नुपर्‍यो कि कस्तो प्रबन्ध छ भनेर ।

प्रधानमन्त्रीले रोस्ट्रममा सम्बोधन गरिरहँदा संसद्‌मा संविधानबाहिर गएर बोल्ने कुरा स्वीकार्य छैन भन्नुभयो । कहीँ न कहीँ संविधानका विरुद्धका कुरा संसद्‌मा रोक्न खोज्ने आशय हो ?

संविधानले जे कुरालाई उल्लेख गरेको छ, त्यसको खिलाफमा संसद्‌मा अभिव्यक्ति हुनै हुँदैन । त्यहाँ प्रयत्न के भइरहेको छ भन्दा गणतन्त्रका विरुद्धमा राजतन्त्र स्थापना गर्नका लागि शान्तिपूर्ण ढंगबाट बोल्न त पाइन्छ भन्ने नामबाट उहाँहरूले प्रयत्न गरिरहनुभएको छ । तर जे कुरामा शपथ खाएर, मानेर आयो त्यसैका विरुद्धमा बोल्ने कुरालाई नियन्त्रण गर्नुपर्छ भन्नेमा प्रधानमन्त्रीको सरोकार ठीक हो । त्यो दिशामा उहाँहरूले आफैं सचेत भएर चल्नुपर्छ, बोल्नुपर्छ । त्यसो नगरेको खण्डमा नियन्त्रण पनि गर्नुपर्छ । नियन्त्रण नभएका खण्डमा कानुनी कारबाही गर्नुपर्ने स्थितिमा जान सक्छ, जान्छ ।

संसद् बैठकको सुरुमा सांसदहरूको उपस्थिति राम्रो देखिन्छ तर विधेयक निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर घण्टी बजाउनुपर्छ । यो अवस्था अन्त्य गर्न के भूमिका खेल्नुहुन्छ ?

विषयको गाम्भीर्यलाई हेरेर सांसदहरू उपस्थित हुनुहुन्छ । आफूले इच्छा गरेको वा केही कुरा राख्दा उपस्थित हुनुहुन्छ र त्यो सिद्धिएपछि बाहिर जाने गर्नुहुन्छ । त्यस्तो कुराहरूलाई आफ्नो दायित्वप्रति गम्भीर बनाउने सचेत बनाउने अनुशासित बनाउने, काम विशेषले जानुछ भने उपस्थित नै नहुने । हाजिर भइसकेपछि त्यो दिन अन्तिमसम्म बस्ने परिपाटीको विकास गर्नका लागि प्रशिक्षित र ध्यानाकर्षण गर्ने तथा दलमार्फत अनुशासनमा लाने कुरा गर्दै जानुपर्छ । यसमा प्रगति हुन लागेको महसुस भएको छ ।

अहिलेको व्यवस्थाविरोधीले पनि संसद्को आलोचना गर्दै व्यवस्थाकै आलोचना गरिरहेका छन् । यो गम्भीर विषय लागेको छ कि छैन ?

आफ्नो दायित्व उहाँहरूले पूरा गर्नुपर्छ । तर विरोधीहरूले त, व्यवस्थाकै विरोधी अथवा विरोध गर्ने नियतका साथ बसेका छन्, उनीहरूले त झनै यस्ता कुराहरूलाई बढाइचढाइ गरेका हुन्छन् । नेपालका सांसदका धेरै व्यावहारिक अप्ठ्यारा हुन्छन् । जसले गर्दाखेरी टिप्पणी जसरी हुन्छ, त्यस्तो होइन । सांसदहरू सक्रिय हुँदा पनि उपस्थितिका सम्बन्धमा समस्याहरू आउँछन् तर त्यसलाई नकारात्मक ढंगबाट चित्रण गर्ने, त्यसलाई आधार बनाएर प्रचार गर्ने काम गरिएको छ ।

संसद्को आगामी बजेट अधिवेशन कसरी चलाउने तयारी छ ?

हाम्रोमा बजेट नीतिका आधारमा आउँछ । नीति तथा कार्यक्रममा सबै सांसदले पर्याप्त मात्रामा दिने हो । विचारका आधारमा नीतिलाई अन्तिम रूप दिने हो । नीतिलाई नै प्रभावकारी बनाउनुपर्छ । नीति बनिसकेपछि बजेटअनुकूल विनियोजन हुनुपर्छ । त्यसका लागि सांसदले भूमिका खेल्नुपर्छ ।

यसपल्ट सरकारले पहिला नीति ल्याउने र त्यसमा आधारित भएर प्रि–बजेट छलफलमा जाने कुरा छ । हामीले बर्खे अधिवेशन मुख्य गरी बजेटलाई निर्धारित समयमा सम्पन्न गरेर विधेयक निर्माणमा जान पाए हुन्थ्यो भन्नेमा छौं । विद्यालय शिक्षा, संघीय निजामती सेवा विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्पन्न गर्ने कोसिस छ ।

यो संसद्को आधा कार्यकाल सम्पन्न भएको छ र यस अवधिमा २७ कानुन बनेका छन् । संसद्को बाँकी कार्यकालमा संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माणसम्बन्धमा के अपेक्षा गर्न सकिन्छ ?

हिजो कति कानुन निर्माण भए भनेर हेर्नेभन्दा पनि कति कानुन आवश्यक छन् त्यस दृष्टिबाट हेर्नुपर्छ । विगतमा धेरै कानुन आवश्यक थिए । एउटा व्यवस्थाबाट अर्कोमा आएर नयाँ संविधान निर्माण भयो । संविधानसम्मत कतिपय कानुन निर्माण नगरी नहुने थियो र बाध्यकारी ढंगबाट कानुन निर्माण भए । अध्यादेश प्रतिस्थापन विधेयक पनि अहिले बाध्यकारी भएकाले पास भए ।

सरकारमा भएको अस्थिरता, सरकार परिवर्तनका कारण पनि कानुन निर्माणमा ढिलाइ वा कमी भइरहेको छ । एउटा नेतृत्वको र अर्कोको सोच नमिल्ने । ती कुरा कार्यान्वयन नहुँदै अर्को सरकार आउने । विगतको सरकारको सोचअनुसार नयाँ सरकारले नसोच्ने, मन्त्री नयाँ हुने र कानुनका कुरालाई समयमा ल्याउन नपाउँदै पद जाने हुन्थ्यो । स्थिर सरकार बन्दा कानुन छिटो बन्ने गरेको छ । आधा कार्यकाल सकिएको छ । अब आउँदा दिनहरूमा आवश्यक काम पारित गरेर जान सकिन्छ । कानुन पाएका छैनौं भन्ने स्थितिको अन्त्य गर्न सकिन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार