बैसाख ७, २०८२ आइतबार April 20, 2025

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न पाएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् ।

गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।

विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार