काठमाडौं, २०७९ वैशाख १४ । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न समितिहरूका प्रतिवेदनहरू र विधेयकहरू पेश तथा छलफल गरिने कार्यसूची रहेको छ। बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छन् भने कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने छन्।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट गरिएका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यतालिका तय गरिएको छ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने छन्।
त्यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१” सभा समक्ष पेश गर्ने कार्यक्रम तय भएको छ।
संघीय संसदको आजको बैठकले महत्वपूर्ण विधेयकहरूमा छलफल र निर्णय अगाडि बढाउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया