काठमाडौं, वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत आधारभूत पूर्वाधारको उल्लेखनीय विकास भएको भन्दै सूचना तथा प्रविधिको क्षेत्रमा वैदेशिक लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को अवसरमा बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई प्रविधिमैत्री र आधुनिक देश बनाउन निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्री ओलीले मुलुकको सुशासन, विकास र जनताको सहज सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोग अपरिहार्य भएको बताउँदै भन्नुभयो, “हामी हाम्रै पालामा केही गर्न सक्छौँ भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। सूचना प्रविधिको दुरुपयोग होइन, विकासको साधन बनाउनेतर्फ लाग्नुपर्छ।”
उहाँले आफ्नै सुरक्षासहितको डेटा प्रणाली विकास गर्नु वर्तमान आवश्यकता भएको उल्लेख गर्दै व्यवस्था परिवर्तनपछिको प्रगति सूचनामार्फत प्रतिविम्बित हुने बताउनुभयो। ओलीले थप भन्नुभयो, “एक समय टेलिफोनका लागि मन्त्रीको सिफारिस चाहिन्थ्यो, आज हामी अन्तरिक्षमा स्याटेलाइट पठाउने तयारीमा छौं।”
उनले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा तालिमलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो। “देशको समृद्धि र सुशासनका लागि सूचना प्रविधिको पहुँच गाउँगाउँमा पुर्याउनु जरुरी छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) नागरिक एपमा समावेश गर्ने कार्यको शुभारम्भ गर्नुभयो।
यस अवसरमा राष्ट्रिय सूचना प्रविधि पुरस्कारबाट प्रा. डा. शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया