गुल्मी । ‘पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ’, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने,’करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ । ‘ कालीगण्डकी करिडोर नबन्दै हर्मिचौरलगायतका भेगका नागरिक सदरमुकाम तम्घास जान पाल्पाको सडक प्रयोग गर्नुपर्नेमा अहिले भने सिधा रिडीको बाटो प्रयोग गर्न सकिने पाण्डेले बताए ।
हर्मिचौरमा सिलाइ–कटाइ पसल सञ्चालन गरिरहनुभएका वीरबहादुर दर्जीलाई पनि सामान ल्याउन करिडोर निर्माणपछि सहज भएको छ । पहिले बागलुङबाट सामान ल्याउनुपर्दा समस्या रहेकामा अहिले करिडोर निर्माणपछि बुटवल आवतजावत गर्न सहज भएको उनले सुनाए । ‘सामान ल्याउन र बिक्री गर्न बाटोका कारण केही समस्या थियो, करिडोर निर्माण भएपछि सहज कम मूल्यमै सामान ल्याउन सकिएको छ’, उनले भने । उनले आफू र आफूजस्तै व्यवसायीलाई करिडोर निर्माणले सहज बनाएको बताए ।
कोरलानाका हुँदै चीनको मानसरोवर जोड्ने करिडोरको गुल्मीमा ३९ किलोमिटर भाग पर्दछ । गुल्मीका रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिक करिडोरबाट लाभान्वित छन् ।
करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ । त्यसैगरी बुटबल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ । करिडोर नहुँदा यहाँबाट काठमाडौँ जान बाग्लुङ वा रिडी गएपछि मात्र बस चढ्नु पर्दथ्यो भने अहिले घरबाटै रात्रिकालीन सेवाको बस चढ्न पाइने भएको सत्यवतीकी मीना क्षेत्रीले बताए ।
रिडीबाट पूर्तिघाटसम्मको व्यापार गुल्मी सदरमुकाम भन्दा बुटबल र बागलुङसँग बढी नजिक छ । त्यसमा सडकले थप सहजता मिलेको छ । करिडोर (गुल्मी खण्ड) निर्माण सम्पन्न भएपछि सडक क्षेत्रमा सयौँको सङ्ख्यामा व्यापारिक फर्महरू खुलेका छन् । होटल तथा रेष्टुराँ कृषि फार्म, कपडा पसल, गल्ला तथा किराना पसल, कस्मेटिकलगायत खुल्न थालेको कालीगण्डकी गाउँपालिका पूर्तिघाटका लिलबहादुर केसीले बताए । ‘करिडोर निर्माणले पर्यटक प्रवर्द्धनमा समेत सहयोग मिलेको छ’, उनले भने ।
व्यावसायिक फर्महरू स्थापना हुँदा एकातर्फ गाउँमै रोजगारी सृजना भएको छभने अर्कातर्फ स्थानीय उत्पादनको बजारीकरण भएको छ । फार्महरू पालिकामा दर्ता हुँदा स्थानीय सरकारको राजस्वमा समेत वृद्धि भएको त्यस क्षेत्रका पूर्वसासंद एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए । ‘करिडोरले यातायात मात्र होइन, यस क्षेत्रको भविष्य नै बलियो बनाएको छ, करिडोर निर्माण नभएको भए यो विकट रहन्थ्यो’, उनले भने ।
नवलपरासीको गैँडाकोटबाट चीनको उत्तरी भाग कोरलासम्म फैलिएको कालीगण्डकी करिडोर दुई सय ५४ किलोमिटरको छ । जसमा नवलपुलमा ७८, पाल्पा र बाग्लुङमा ३६ किलोमिटर सडकखण्ड पर्छ । हालसम्म १९७.३ किलोमिटर सडक कालोपत्र भएको छ । करिडोरले नवलपुरका तीन, पाल्पाका पाँच, गुल्मीका तीन तथा बागलुङमा एक पालिका छोएको छ । करिडोरमा बनाउनुपर्ने ५९ पुलमध्ये ३५ वटा निर्माण सम्पन्न भएका छन् । सातवटा निर्माणाधीन छन् भने १७ पुलको ठेक्का हुन बाँकी रहेको कालीगण्डकी करिडोर कार्यालयका इञ्जिनियर अरुण खत्रीले जानकारी दिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया