काठमाडौँ । राजधानीको नक्सालस्थित ऐतिहासिक बाल मन्दिरको ११९ रोपनी १२ आना ३ पैसा क्षेत्रफल रहेको सरकारी जग्गाको लिज सम्बन्धी विवाद अब कानुनी मोडमा प्रवेश गरेको छ। नेपाल बाल संगठनको नाममा रहेको यस जग्गालाई लिजमा दिँदा ‘ठगी गरिएको’ भन्दै रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो।
पूर्वप्रधानमन्त्री गणेशमान सिंहका पुत्र तथा वर्तमान उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदीसमेत रहेकी वैद्य नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष थिइन्। मुद्दामा ६० करोड रुपैयाँभन्दा बढी रकम मागदाबी गरिएको छ।
विवादको जड भने वृहस्पति विद्या सदन र त्यसमा जोडिएको राई स्कुलसँगको सम्झौतामा छ। २०५९ सालमा २०८९ सम्मको लिजमा रहेको जग्गा अझै १७ वर्ष बाँकी रहँदै २०७२ मा पुनः थप ३८ वर्षका लागि सम्झौता गरियो। अहिले वृहस्पति विद्या सदनले उक्त जग्गा २१२७ सालसम्म भोगचलन गर्न पाउनेछ।
सम्झौताअनुसार, २८ रोपनीभन्दा बढी जग्गाको प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँ दरले वार्षिक भाडा १ करोड १० लाख रूपैयाँ निर्धारण गरिएको थियो। तर, हालको बजार भाडादरभन्दा निकै कम रकममा सम्झौता गरिएको भन्दै ठगीको उजुरी नेपाल बाल संगठनकै तर्फबाट दर्ता गरिएको थियो।
प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिसकेको थियो। सीआईबीले मुद्दा चलाउनु नपर्ने सिफारिससहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले निर्णय गर्दै मुद्दा चलाउने बाटो खोलेपछि वैद्यसहित १७ जनामाथि अन्ततः मुद्दा दायर भयो।
उक्त मुद्दामा तीन जना भारतीय नागरिक- अभिनव सिंघानीया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेय पनि प्रतिवादी छन्। यी तीनैजना वृहस्पति विद्या सदनसँग आबद्ध छन्, पाण्डेय राई स्कुलका प्रिन्सिपलसमेत हुन्।
यस प्रकरणले शक्तिशाली र प्रतिष्ठित शैक्षिक संस्थाहरूको संलग्नता देखाउँदै ‘सार्वजनिक सम्पत्तिको निजी हितमा उपयोग’ विषयमा गम्भीर प्रश्न उठाएको छ।
मुद्दा दर्तापछि अब अदालतको फैसला कुर्न बाँकी छ, तर यो प्रकरण नेपाली राजनीति, शिक्षा क्षेत्र र सार्वजनिक सम्पत्तिको प्रयोगमा पारदर्शिता कति छ भन्ने गम्भीर बहसको विषय बनेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया