ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटको आज ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए।
‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ’, उनले भने।
लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरुविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ।’
मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया