काठमाडौँ, २९ वैशाख । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणको साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्घाटन कार्यक्रममा उनले वनमा काठ सड्ने तर उपभोक्ताले नपाउने समस्या समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिए । नुभयो । ‘विविध समस्या छन्, यसमा के–कस्ता उपायहरू अवलम्बन गरी वनको संरक्षण र काठको सदुपयोग बढाउन सकिन्छ भनेर यो गोष्ठीमा छलफल होस् र निष्कर्ष निस्कियोस्,’– उनले भने ।
उनले सङ्घीय शासन प्रणालीअनुसार वन व्यवस्थापनको प्रमुख जिम्मेवारी प्रदेश तहमा पुगेको भए पनि समग्र नीति निर्माण, प्राविधिक मापदण्ड निर्धारण र अन्तरसरकारी समन्वय भने सङ्घीय सरकारको दायित्व रहेको बताए ।
मन्त्री शाहीले गोष्ठीले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरूमा गहिरो छलफल गर्ने अपेक्षा गरे । ‘दिगो वन व्यवस्थापन, स्थानीय समुदायको सक्रिय सहभागिता, वन पैदावारको आन्तरिक उत्पादन वृद्धि गरी काठ तथा फर्निचरको आयात प्रतिस्थापन गर्ने उपायबारे छलफल आवश्यक छ । गोष्ठीले सबै नागरिकले वन पैदावार उपयोग गर्न सक्ने पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मार्गदर्शन गर्नेगरी निष्कर्ष निकाल्ने अपेक्षा गरेको छु,’– उनले भने ।
वन क्षेत्रको जमिन अन्य प्रयोजनका लागि प्रयोग गर्न पर्दा सम्भव भएसम्म वैकल्पिक उपाय अपनाउनुपर्ने र यसमा विकास र वातावरण सन्तुलनको सिद्धान्त पालना गर्दै प्रदेश सरकार तथा डिभिजनल वन कार्यालयले सहजीकरण गर्नुपर्ने मन्त्री शाहीको जोड थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया