काठमाण्डौंः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेबाट सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
नेकपाको विवाद समाधान गर्न महासचिव बिष्णु पौडेल संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल निर्माण गर्ने निर्णय पार्टीको कमिटीबाट नभएको भन्दै पार्टीका शिर्ष नेताहरुले दुई अध्यक्षले बनाएको ६ सदस्यीय कार्यदलको आधिकारिकताका बिषयमा समेत प्रश्न उठाएका थिए ।
पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बस्नु पर्ने माग राखेको बेला आज बिहान बस्नेगरी सचिवालय बैठक बोलाइएको छ ।
सचिवालय बैठकले कार्यदल गठन आधिकारिकता दिने र कार्यदलले गर्ने कामका बारेमा थप स्पष्टता गर्ने बताइएको छ । त्यस्तै पार्टीको अहिले विवाद मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा समेत हेरफेर गर्ने तयारी गरेकाले आजको बैठकमा यस बारेमा समेत गम्भिर छलफल हुनसक्ने बालुवाटार स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडासहित दुई बर्ष मन्त्री भईसकेका करिब आधा दर्जन मन्त्रीहरु परिवर्तन गर्ने तयारी गरेको बताइएको छ ।
यद्दपी नेकपाको सचिवालय बैठक श्रावण ३ गते यता बस्न नसकेका कारण हुन सकेको थिएन । श्रावण ३ बतेको बैठक विवादस्पद समेत बनेको थियो । सो बैठकमा मंसिरमा महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाएको भनिएको थियो । सो बैठक पछि प्रचण्डले सहमति भएको भनिएको अश्विकार गरेका थिए ।
गत श्रावण १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि स्थायी कमिटी बैठक समेत अन्योलमा रहेको छ । पछिल्लो पटक दुवै अध्यक्षबीच पार्टीको विवाद मिलाउन गत शुक्रबार ६ सदस्यीय कार्यदल बनाएपछि नेकपा विवाद मिल्न लागेको विश्लेषण गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया