श्रावण ५, २०८२ सोमबार July 21, 2025

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), १ जेठः पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।
चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलोपटक धेरै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले स्वास जाने भयो ।”

कोहलपुर नगरपालिका–१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार ३४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । “लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ । अब भने जग्गा धनी भएका छौँ । हाम्रो लागि यो निकै खुसीको कुरा हो,” उहाँले भन्नुभयो, “सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौंदेखिको माग पूरा गरेको छ । निकै हर्षित छौँ ।”

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताउनुभयो । भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उहाँले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्नेगरी पहल भएको उल्लेख गर्नुभयो ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिका–१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलोपटक यहाँ लालपुर्जा वितरण गरिएको हो । समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो । प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ ।

अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । “कोहलपुर नगरपालिका–२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका–१९ र २०, राप्तीसोनारी गाउँपालिका–७ र वैजनाथ–६ मा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने तयारी भएको छ”, उहाँले भन्नुभयो, “हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार