श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उद्घाटन समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० वैशाख : नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि यही जेठ ४ गतेसम्म काठमाडौँमा हुँदैंछ ।

संवादको उद्घाटन समारोह शुक्रबार बिहान ‘द सोल्टी होटल’मा हुनेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा जानकारी दिँदै सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संवादको तयारी पूरा भएको छ, संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ । बाह्र देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।” चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसक्नुभएको छ भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उद्घाटन समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिनुहुने छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ । उद्घाटनपछि बिहान ११३० बजेदेखि दिउँसो १३० बजेसम्म अन्तरराष्ट्रिय सम्मेलनको प्रारुपमा ‘प्लेनरी सेसन’ आयोजना हुनेछ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुती रहनेछ ।

शुक्रबार दिउँसो २ः३० बजेदेखि १२ छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुनेछ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइनेछ ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिनुहुने परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो । उहाँले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको उल्लेख गर्नुभयो ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा राणाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने उहाँले बताउनुभयो ।

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागिसमेत उपयोगीसिद्ध हुने बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन् ।

“संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिनेछ”, सहचिव डा ढकालले भन्नुभयो । सरकारले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने जनाएको छ ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ । तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ । बढ्दो जलवायु परिवर्तनका असरका कारण जलवायुजन्य हानिनोक्सानी, विपद्, जैविक विविधिताको हस, वायु प्रदूषणलगायत विश्वव्यापी सङ्कटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक सबैभन्दा बढी आक्रान्त छन् । यस परिस्थितिमा संवादले जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य लिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार