काठमाडौं, जेठ ११ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्था अस्तव्यस्त र अन्योलपूर्ण भएको भन्दै यसको दोष प्रतिगामी तत्वहरूतर्फ संकेत गरेका छन्।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरू मौन बसेको मौका छोप्दै केही शक्तिहरूले लोकतान्त्रिक प्रणालीमाथि षड्यन्त्र गरिरहेको आरोप लगाए।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै भने, “जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानीकन जनतालाई रैति बनाउन खोज्ने प्रयास भइरहेको छ।” प्रधानमन्त्री ओलीले केही नागरिकहरू पूर्वराजाका वरपर घुमिरहने र उनीहरू नागरिक सर्वोच्चताको सट्टा दलालीमा समर्पित भएको टिप्पणी गरे।
ओलीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरू प्रयोग गरेर समाजमा नकारात्मक सोच, भ्रम र असन्तुष्टि फैलाउने काम भइरहेको बताए। उनका अनुसार, “विभिन्न डिजिटल प्लेटफर्ममा योजनाबद्ध लगानी गरी जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेको छ। यसमा प्रतिगामी शक्तिहरूको सक्रियता देखिएको छ।”
प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा लोकतन्त्रको संरक्षण गर्न सबै सचेत नागरिक र जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, “हामी मौन बस्दा प्रतिगामी शक्तिहरूको मनोबल बढेको छ। हाम्रो मनोबल उच्च हुनुपर्छ। हाम्रो लक्ष्य, गन्तव्य र उद्देश्य महान छन्।”
कार्यक्रममा ओलीले जननिर्वाचित वडा अध्यक्षहरूलाई प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहनुका साथै जनतामाझ सत्य सूचना प्रवाह गर्न आग्रह गरे। उनले वडाध्यक्षहरूलाई जनतासँगको सम्बन्ध बलियो बनाएर लोकतान्त्रिक प्रणालीको संरक्षणमा अग्रसर हुन निर्देशन दिए।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको दुरुपयोगविरुद्ध सचेत रहनु र स्वार्थपरक शक्तिहरूको प्रभावमा नपर्न आह्वान गरे। उनले भ्रष्टाचार र पैसाको बलमा सत्ता कब्जा गर्ने प्रवृत्तिको पनि आलोचना गरे।
कार्यक्रममा सहभागी वडाध्यक्षहरूलाई उनले लोकतान्त्रिक मूल्य, संविधान र राष्ट्रिय स्वाभिमानका पक्षमा अडिग रहन प्रेरणा दिन खोजे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया