श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’ : प्रदेश प्रमुख भट्ट

सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताए ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उनले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताए । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पुर्‍याएको योगदानको चर्चा प्रमुख भट्टले गरे ।

मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गड्तौलाले अधिकार र दायित्वको समुचित प्रयोग गर्दै मानव अधिकार मैत्री राष्ट्र र समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपूरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया