असार २१, २०८२ शनिबार July 5, 2025

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ पदमुक्त

प्रदेशसभामा पूर्व सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा पुगेकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभामा पूर्व सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङको पद रिक्त भएको घोषणा बुधबार बसेको छैटौँ अधिवेशनको ११ औँ बैठकमा गरेका हुन्।

प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ।

गुरुङ विगतका बैठकहरूमा पनि अत्यन्त न्यून उपस्थित हुने सदस्यमध्ये पर्थिन्। पाँचौं अधिवेशनअन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी भएकी थिइन्। छैटौँ अधिवेशनमा भने उनले कुनै बैठकमा पनि उपस्थिति जनाएकी छैनन्। सो अधिवेशनमा बुधबारसम्म ११ वटा बैठक सम्पन्न भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया