काठमाडौं, जेठ १८ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै संघर्षरत राजावादी समूहले भोलि आइतबार (जेठ १९ गते) काठमाडौं उपत्यकामा बन्दको घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समिति नामक गठित संघर्ष समिति संयोजक नवराज सुवेदीले शनिबार एक विज्ञप्ति जारी गर्दै बन्दको औपचारिक घोषणा गरेका हुन्।
सरकारले आइतबार भएको आन्दोलनमा ‘बर्बर दमन’ गरेको आरोप लगाउँदै सुवेदीले आन्दोलनको स्वरूप परिवर्तन गरी उपत्यका बन्द गर्न बाध्य भएको बताएका छन्। “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं,” सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं।”
विज्ञप्तिमा आन्दोलनमा सहभागीहरूप्रति आ–आफ्नो टोल तथा चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।
गत आइतबार राजधानीमा आयोजित राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राजावादी समूहले उनीहरूलाई प्रहरीले अमानवीय तरिकाले पक्राउ गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ।
“शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्यो, त्यसको हामी कडा शब्दमा भर्त्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
सरकार र सुरक्षाकर्मीमाथि उत्पीडनको आरोप लगाउँदै राजावादी समूहले आन्दोलन अझ सशक्त बनाउने चेतावनी पनि दिएको छ। आन्दोलनप्रति जनस्तरबाट समर्थन जुट्दै गएको भन्दै उनीहरूले ‘शान्तिपूर्ण तर संगठित’ दबाब कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया