काठमाडौँ, असार ५ । अमेरिकाले हाल लागू गरेको ९० दिने विश्वव्यापी वैदेशिक सहायता स्थगनको निर्णयबाट नेपाललाई विशेष छुट प्रदान गरेको छ, जसअनुसार ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पूर्ण रूपमा कार्यान्वयनमा जान सक्ने भएको छ।
यस विशेष छुट अमेरिकी विदेशमन्त्रीले फेब्रुअरी २०२५ मा अनुमोदन गरेका हुन्। अमेरिकाले हाल आफ्ना सम्पूर्ण वैदेशिक सहायता कार्यक्रमहरूको समग्र पुनरावलोकन गरिरहेको सन्दर्भमा नेपाललाई दिइएको छुट महत्वपूर्ण कूटनीतिक सन्देशका रूपमा हेरिएको छ।
नेपालको अर्थ मन्त्रालय र कार्यान्वयन संस्था मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) सँगको सहकार्यमा एमसीसी परियोजनाहरू अगाडि बढ्नेछन्। परियोजनाको प्रमुख उद्देश्य विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक मर्मत सुधारमा केन्द्रित रहेको छ।
अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “एमसीसी परियोजनालाई पारदर्शिता, सुशासन, प्रभावकारी परियोजना कार्यान्वयन र जोखिम व्यवस्थापनको सिद्धान्तमा आधारित रही कार्यान्वयन गरिँदैछ।”
दूतावासले थप जनाएको छ कि एमसीसी र अमेरिकी दूतावासले नेपाली सरोकारवालासँग निरन्तर समन्वय गर्दै आएका छन्, ताकि वैदेशिक सहायता नीतिको पुनरावलोकनबाट सकारात्मक नतिजा सुनिश्चित गर्न सकियोस्।
नेपालमा एमसीसी परियोजना राजनीतिक दृष्टिले विवादित विषय बन्दै आएको भए पनि यस परियोजनालाई अमेरिकाले नेपालप्रतिको दीर्घकालीन आर्थिक सहयोग र विकास प्रतिबद्धताको केन्द्रमा राखेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया