काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताएका छन् ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले स्काउटको निरन्तर प्रयासले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूलाई चरित्रवान, स्वावलम्बी र समाजसेवी नागरिकको रूपमा विकसित गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए।
स्काउट ऐन, २०५० अन्तर्गत युवालाई नैतिक, बौद्धिक तथा सामाजिक शिक्षामार्फत जिम्मेवार नेतृत्वतर्फ उन्मुख गराउन संस्थाले गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सातै प्रदेश र ७५३ स्थानीय तहमा फैलिएको स्काउट सञ्जाल र सोमार्फत परिचालित ५० हजारभन्दा बढी स्वयंसेवक युवा स्काउटको योगदानको स्मरण गरे ।
“लागूपदार्थ दुर्व्यसन निवारण, महिला हिंसाविरुद्ध अभियान, किशोरी स्वास्थ्य सचेतना तथा विपद् व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्दै नेपाल स्काउटले गर्दै आएको समाजिक रूपान्तरण महत्त्वपूर्ण छ”, उनले भने, “स्काउटका सदस्यहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनु प्रशंसनीय छ ।”
उपराष्ट्रपति यादवले विपद् व्यवस्थापनमा दक्ष टोली निर्माण, स्वयंसेवा अभियानका सशक्त गतिविधिहरू तथा महिला नेतृत्व प्रवर्द्धनमा संस्थाको अग्रसरतालाई सशक्त प्रेरणा स्रोतका रूपमा लिइनुपर्ने बताए । उपराष्ट्रपति यादवले नेपाल स्काउटको आगामी यात्रा अझ प्रभावकारी, समावेशी र नविन उपलब्धिले सम्पन्न होस् भन्ने कामना समेत गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया