पोखरा, असार ८ गते । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले विगतमा भएका ठूला आर्थिक अनियमितताहरूको यथोचित छानबिन गरिएमा तत्कालीन प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार कारागारमै भेट्न सकिने अवस्था आउने बताएका छन्।
समाजवादी प्रेस संगठन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी विमान खरिद, गिरिबन्धु टी स्टेट, गोकर्ण सफारी पार्क र ओम्नी प्रकरण जस्ता विवादास्पद मुद्दाहरूको उदाहरण दिँदै ती सबैमा निष्पक्ष छानबिन र कारबाही गरिनु पर्नेमा जोड दिए।
“यदि यस्ता लर्को लागेका प्रकरणहरूमा सही ढंगले छानबिन भयो भने, हामी डिल्लीबजार भवनमै पूर्वप्रधानमन्त्रीहरू र अर्थमन्त्रीहरूलाई पाउरोटी लिएर भेट्न पाउनेछौं,” पाण्डेले व्यङ्ग्य गर्दै भने।
उनले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लागेको आरोप पूर्वाग्रही भएको पनि जिकिर गरे। ललिता निवास प्रकरणलाई उदाहरण दिँदै उनले त्यसमा सरकारले नीतिगत निर्णय गरेको र नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा नपर्ने निष्कर्ष निकालिएको बताए। त्यसै प्रकृतिको अर्को निर्णयलाई भने नीतिगत नभनी अभियोग लगाउनु पूर्णरूपमा पूर्वाग्रही भएको तर्क राखे।
“सरकारले निर्णय गर्छ, त्यो नीतिगत हुन्छ भने त्यसमा अख्तियार जान सक्दैन। तर त्यस्तै प्रकृतिको अर्को निर्णयलाई भने अभियोग लगाइन्छ भने त्यो निष्पक्ष हुँदैन,” उनले भने।
वरिष्ठ उपाध्यक्ष पाण्डेले न्यायको समान मापदण्डको पक्षमा आफूहरू उभिएको प्रस्ट पार्दै निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न सबै दल जिम्मेवार हुनुपर्नेमा जोड दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया