असार १९, २०८२ बिहिबार July 3, 2025

महिला एशियन कप छनोटमा नेपाल आज लाओससँग पहिलोपटक भिड्दै

सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ, असार १५ गते । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत नेपालले आज (आइतबार) पहिलो खेलमा लाओससँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे सुरु हुनेछ।

महिला फुटबल इतिहासमा नेपालले पहिलो पटक लाओससँग खेल्न लागेको हो। पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहेको छ भने लाओस एक सय सातौं स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय महिला फुटबलको यात्रामा नेपालले यही खेलमार्फत एक सयौं खेल पूरा गर्दैछ, जसले यो खेललाई थप ऐतिहासिक बनाएको छ।

नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तान र श्रीलङ्कासमेत छन्। आइतबार नै उक्त समूहअन्तर्गत उज्वेकिस्तानले श्रीलङ्कासँग खेल्दैछ।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शनिबार आयोजित पत्रकार सम्मेलनमा टोली शारीरिक र मानसिक रूपमा पूर्ण तयारीमा रहेको बताएका छन्। स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले पनि पहिलो खेलमै राम्रो प्रदर्शन गर्नुपर्ने र हरेक खेल महत्वपूर्ण हुने बताइन्।

नेपालले दोस्रो खेल असार १८ गते बुधबार श्रीलङ्कासँग र अन्तिम खेल असार २१ गते शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ।

महिला एशियन कप छनोटमा ३४ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपमा स्थान बनाउनेछ। यसअघि आयोजक अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान स्वतः छनोट भइसकेका छन्।

महिला फुटबलमा लामो समयदेखि उपविजेतामा सीमित रहँदै आएको नेपाली टोलीले यसपटकको छनोट चरणबाट ऐतिहासिक उपलब्धि हासिल गर्ने आशा गरिएको छ। समूह प्रतिस्पर्धाबाट अघि बढ्न नेपाललाई प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नु अपरिहार्य हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया