तनहुँ, असार १७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँका तीन विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाका १७२ विद्यालयमध्ये तीन वटा सामुदायिक विद्यालयबाट कुनै पनि परीक्षार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुई सामुदायिक र एक निजी विद्यालय गरी तीन विद्यालयको नतिजा शून्य आएको उहाँले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार शुक्लागण्डकी नगरपालिकामा एक विद्यालयको नतिजा शून्य रहेको छ । वडा नं. ३ को उदेनढुङ्गास्थित सामुदायिक दिवस माध्यमिक विद्यालय रहेको छ ।
त्यसै गरी व्यास नगरपालिका–१, गल्बुबेँसीस्थितको निजी विद्यालय मादीगङ्गा आवासीय विद्यालयको नतिजा शून्य छ । देवघाट गाउँपालिकाको कमलडाँडास्थित सामुदायिक विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयको नतिजा पनि शून्य छ । दिवस माविबाट १५, मादीश्रीबाट १२ र राष्ट्रिय माविबाट १० विद्यार्थी सहभागी भएकामा सबै अनुत्तीर्ण भएका थिए ।
तनहुँमा झन्डै ६४.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । चार हजार ८४५ जना विद्यार्थीले परीक्षा दिएकामा सो सङ्ख्यामा उत्तीर्ण भएका हुन् । परीक्षामा एक हजार ७४९ अर्थात् ३५.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएनन् ।
जिल्लामा चार जनाले चार जिपिए ल्याएका छन् । व्यास नगरपालिका–५, चापाघाटस्थित शान्तिवर्ष माध्यमिक विद्यालयका छात्रा स्नेहा गिरी, बन्दीपुर गाउँपालिका–१, पिप्लेस्थित पवित्रका माध्यमिक विद्यालयका छात्रा आयुषा श्रेष्ठ र आँबुखैरेनी गाउँपालिका–३, आँबुखैरेनी बजारस्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापा गरी चार जनाले चार जिपिए ल्याएको एकाइका शाखा अधिकृत भरत बरालले जानकारी दिनुभयो । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया