असार १९, २०८२ बिहिबार July 3, 2025

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षा बाहेक सरकारी सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा

पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।

सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया