हेटौँडा, असार १९ गते । बागमती प्रदेश सभाका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटका बारेमा विपक्षी दलले उठाएका सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ ।
बागमती प्रदेश सभाको बिहीबारको बैठकमा बोल्दै मुख्यमन्त्री लामाले बजेटमा नीतिगत सुधार गर्न विपक्षी दलले राखेका माग र सुझावप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो ।
उहाँले हामी सबैको लक्ष्य र गन्तव्य समृद्ध बागमती प्रदेश निर्माण भएकाले एकताबद्ध भएर जानुको विकल्प नभएको बताउनुभयो ।
मुख्यमन्त्री लामाले विपक्षी दलले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएका छौ सुधार गर्नुपर्ने विषयमा आवश्यक सुधार गर्छौं भन्दै यसका प्रदेश सभाले निर्देशन गर्न सक्ने बताउनुभयो ।
उहाँले प्रदेश सभाले सरकारलाई ध्यानाकर्षण गराउन सक्छ निर्देशन दिनसक्छ त्यसलाई हामी स्वीकार गर्छांै भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘‘विपक्षी दलले बजेटमा दिएको नीतिगत सुधारलाई सकारात्मक रुपमा लिएका छौँ ।’’
राप्रपाका प्रदेश सभा सदस्यहरुले बैठक बहिष्कार गरेकोप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, हामी गणतन्त्रवादी भएर सबै प्रदेश सभामा नै छौँ, लोकतन्त्रलाई मान्ने हो, प्रदेश सभा छाडेर जानुभन्दा सबैले यहाँ खुला रुपमा आफ्नो धारणा राखौँ, राप्रपालाई पनि छलफलमा सहभागी हुन आग्रह गर्छौ, छुटेका विषयलाई सम्बोधन गर्न तयार छौँ ।
उहाँले प्रदेश सभा सदस्यहरुको मागलाई बजेटमा सम्बोधन गर्ने काम भएको भन्दै हामी सबै एकताबद्ध भएर समृद्ध प्रदेश निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
प्रदेश सभाको बैठकमा यसअघि बजेटमाथि आफ्नो धारणा राख्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेट दिशाहीन र कमजोर धरातलमा बनेको बताउनु भएको थियो ।
उहाँले प्रदेश सरकारले ल्याएको बजेट हावादारी र आशा जगाउने नभएको भन्दै बजेटका बारेमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो । उहाँले यो बजेटले परिणाम दिन नसक्ने भन्दै बजेटको खर्च बेहोर्ने अनुमान नै गलत भएको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया