मस्को, असार १९ गते । कुस्र्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप कमाण्डरका रुपमा कार्यरत एक उच्च पदस्थ रुसी जनरलको मृत्यु भएको रूसी अधिकारीले बिहीबार बताएका छन् । सन् २००० देखि सेनामा कार्यरत ४२ वर्षीय मिखाइल गुडकोभलाई सन् २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ घोषणा गर्नुभएको थियो ।
सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेयता मारिएका उहाँ वरिष्ठ रुसी सैन्य अधिकारीमध्ये एक हुनुहुन्छ । “सन् २०२५ जुलाई २ मा कुस्र्क क्षेत्रको एक सीमा क्षेत्रमा युद्ध अभियानको क्रममा मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभ मारिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआइएले जनाएको छ ।
रुसको सुदूर पूर्वको प्रिमोरी क्षेत्रका प्रमुख ओलेग कोझेम्याकोले गुड्कोभ ‘अफिसरको रूपमा आफ्नो कर्तव्य पूरा गर्ने क्रममा मारिएको’ बताउनुभएको छ । कोझेम्याकोले गुड्कोभसँग आफूले वर्षौंदेखि ‘धेरै’ कुरा गरेको भन्दै उहाँको प्रशंसा गर्दै उहाँलाई ’बलियो योद्धा’ को संज्ञा दिनुभयो । उहाँका अनुसार गुड्कोभ रुसी सुदूर पूर्वमा रहेको प्यासिफिक क्षेत्रको १५५ औं ‘गाड्र्स नेभल इन्फेन्ट्री ब्रिगेड’का पूर्व कमान्डर हुनुहुन्थ्यो ।
गभर्नरले भन्नुभयो, “रूसी नौसेनाको उपकमान्डर बनेपछि पनि गुडकोभ ‘व्यक्तिगत रूपमा’ रूसी नौसेनाको गतिविधिमा सक्रियताका साथ काम गर्दै आउनुभएको थियो ।” युक्रेनी सेनाले सन् २०२२ मा सुरु भएको रुसको पूर्ण अभियानको प्रतिक्रिया स्वरुप गत वर्ष कुस्र्कको ठूलो भाग कब्जा गरेको थियो । गत अप्रिलमा रुसले उक्त क्षेत्र पूर्णरुपमा कब्जामा लिएको बताएको थियो तर सीमा क्षेत्रमा भिडन्त जारी छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया