काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्पेन भ्रमण सकाएर स्वदेश फर्किएका छन्। उनी स्पेनको राजधानी म्याड्रिडबाट कतारको दोहा हुँदै बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा अवतरण गरेका हुन्।
असार १४ गते शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि वित्त प्रवाह, जलवायु परिवर्तनको प्रभाव र अल्पविकसित मुलुकहरूका लागि सन्तुलित वित्तीय पहुँचको आवश्यकता उठाएका थिए। साथै, उनले अल्पविकसित राष्ट्रहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरेका थिए।
प्रधानमन्त्री ओलीले स्पेनस्थित विश्व प्रसिद्ध रियल म्याड्रिड क्लबको सान्टियागो बर्नाबेउ रंगशाला भ्रमण गरेका थिए। त्यस्तै, स्पेनस्थित नेपाली दूतावासको निरीक्षण र प्रवासी नेपाली समुदायसँग अन्तरक्रिया पनि गरेका थिए।
प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–स्पेन सम्बन्ध प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा नेपालको चासो प्रस्तुत गर्ने अवसर दिएको सरकारको ठहर छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया