काठमाडौं, असार २१ गते । इजरायलले मध्यपूर्वका मुलुकमाथि गरिरहेको हस्तक्षेपको विरुद्धमा नेपालका पाँच वामपन्थी दलले साझा विरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन्।
शनिबार काठमाडौँको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मसाल) का शीर्ष नेताहरु सहभागी थिए। बैठकमा इजरायली आक्रमणविरुद्ध प्रतिरोध जनाउन साझा अभियान सञ्चालन गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।
बैठकमा प्यालेष्टाइनमाथि भइरहेको इजरायली ‘नरसंहार’ को तीव्र विरोध जनाइएको थियो। साथै, सोही सन्दर्भमा इजरायलको हस्तक्षेपविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतना जगाउन संयन्त्र गठन गर्ने प्रस्तावमा पनि छलफल भएको गुरुङले बताए।
उनले अन्य राजनीतिक दलहरूसँग पनि इजरायली हस्तक्षेपविरुद्ध थप व्यापक एकता निर्माण गर्ने प्रयास भइरहेको जानकारी दिए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरू सहभागी थिए।
वामपन्थी दलहरूले अन्तर्राष्ट्रिय रुपमा भइरहेको ज्यादतीविरुद्ध नेपालको भूमिकालाई स्पष्ट बनाउँदै शान्ति, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको पक्षमा आवाज बुलन्द गर्नु आवश्यक रहेको भन्दै यो अभियानलाई राजनीतिक मात्र नभई मानवीय सहानुभूतिका रुपमा पनि अघि बढाइने जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया