काठमाडौं, असार २२। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बालेन भण्डारीलाई भेट्नका लागि आजै बिहान बुढानिलकण्ठस्थित उनको निजी निवास भंगाल पुगेका हुन्।
पूर्वराष्ट्रपति भण्डारी अहिले पुनः सक्रिय राजनीतिमा फर्किएकी छिन्। उनले नेकपा (एमाले) को साधारण सदस्यता नविकरण गरिसकेकी छन्। यस्तो बेला काठमाडौंका मेयरको व्यक्तिगत भेटले राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू चल्न थालेका छन्।
यता बालेन र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध भने चिसिएको देखिन्छ। बालेनले ओली नेतृत्वको आलोचना सार्वजनिकरूपमै गर्दै आएका छन्। सामाजिक सञ्जालमा एमाले समर्थकहरू पनि मेयर शाहको विरोधमा देखिँदै आएका छन्।
महानगरपालिकामा दलगत सहकार्य नहुँदा बालेन अहिले राजनीतिक रूपमा एक्लिएको अनुभूति गरिरहेको विश्लेषण भइरहेका छन्। एमालेसहितका दलीय प्रतिनिधि र कर्मचारीहरूसँगको तिक्तताका कारण आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत हालसम्म सार्वजनिक हुन सकेको छैन।
भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया