काठमाडौँ, असार २६ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बुधबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल र फ्रान्सबिचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयाम तथा भावी सहकार्यको सम्भावनाबारे महत्त्वपूर्ण छलफल भयो।
उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबिच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गर्दै भन्नुभयो, ‘हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।’ उहाँले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यको प्रशंसा गर्दै ती मूल्यहरूले नेपालका राजनीतिक आन्दोलन तथा संघर्षमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।
नेपालको पूर्वाधार विकासमा युरोपेली सङ्घमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोग प्रति आभार व्यक्त गर्दै उपराष्ट्रपतिले आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनताको हितमा थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले फ्रान्सको आगामी राष्ट्रिय दिवसको अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो।
नेपालका लागि फ्रान्सका महामहिम राजदूत भर्जिनी कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणाहरुमा आधारित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा हाम्रा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रयास रहनेछ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया