काठमाडौँ, असार ३० गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताउनु भयो । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्ने कुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो ।
कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु । तपाईँले तत्काल तपाईँको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानबिन गर्ने विषयलाई सहज बनाउनुस् । बर्खास्त गरेर मात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दूधको दूध र पानीको पानी हुनुपर्छ । त्यसको छानबिन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका अरू कोको छन्, छन् भने कसैको बारेमा टिप्पणी गर्न हतारो हुन्छ । कहीँ कतै दोषी देखिन्छन् भने कारबाही गर्नुपर्छ ।’
महामन्त्री थापाले कानुन भन्दा माथि कोही पनि नहुने बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया