पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताको विषयमा सत्तारूढ दल नेकपा एमालेभित्र औपचारिक रूपमा छलफल सुरु भएको छ। पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्केको विषयमा कतिपय पदाधिकारी असन्तुष्ट छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकमा अधिकांश पदाधिकारीले मुलुकको सर्वोच्च पदमा पुगिसकेकी व्यक्ति पार्टी राजनीतिमा आउँदा त्यसको सन्देश राम्रो नजाने धारणा राखे।
एमाले पदाधिकारीमध्ये अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट लगायतले पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीति गर्नु गम्भीर विषय भएकाले पार्टीले सुझबुझका साथ निर्णय लिनुपर्नेमा जोड दिए। उनीहरूले जनमानसमा सन्देश राम्रो नजाने भएकाले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउनु ठिक होइन कि भन्ने तहबाट छलफल गरेका थिए।
‘सचिवालय बैठकमा लामो छलफल भयो तर पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउनुपर्छ भन्नेमा भन्दा आउनुहुन्न भन्नेमा बलियो मत छ। एकाध पदाधिकारीले भने सक्रिय राजनीतिमा आउँदा कुनै फरक नपर्ने र त्यो व्यक्तिगत विचार र स्वतन्त्रताको विषय भएको बताएका थिए। केही पदाधिकारी भने मौन थिए,’ बैठकमा सहभागी एक पदाधिकारीले भने।
असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले परिवारको भइसकेको घोषणा गरेपछि नेता–कार्यकर्ता पंक्तिमा यो विषय छलफलको तहमा पुगेको थियो। पार्टी सचिवालय बैठकमा भने औपचारिक रूपमा बिहीबार मात्रै यो विषयले प्रवेश पाएको हो।
पदाधिकारीहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन हुने कि नहुने भन्ने विषयमा आफ्ना धारणा राखिरहँदा अध्यक्ष केपी शर्मा ओलीले अझै समय रहेकाले छलफल गर्न सकिने बताएका थिए। दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको एमालेमा पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा सक्रिय हुने भनी गरेको घोषणाका विषयमा औपचारिक रूपमा छलफल चलाइएको हो।
११औं महाधिवेशनमा नेतृत्व लिने रणनीतिका साथ अघि बढेकी पूर्वराष्ट्रपति भण्डारीको व्यवस्थापनका लागि पार्टीभित्र कुनै न कुनै पद सिर्जना गर्ने कि भन्ने कोणबाट प्रस्ताव आए पनि त्यसलाई बैठकमा अघि बढाइएन।
भण्डारी सक्रिय राजनीतिमा फर्केपछि एमालेमा यतिबेला ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था राख्ने वा हटाउने भन्ने विषयमा पनि चर्को बहस चलिरहेको छ।
भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरी सनराइज हलमा हुने विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा पूर्वराष्टूपति भण्डारीको राजनीतिक सक्रियता र उनीबाट सार्वजनिक भएका अभिव्यक्तिबारे छलफल हुने भएको छ। ‘अध्यक्षले पूर्वराष्टूपति विद्या भण्डारीका बारेमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ।
आजको बैठकमा भ्याइएन भने पनि अर्को बैठकमा छलफल हुन्छ। यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुंगो लाग्छ,’ सचिव योगेश भट्टराईले भने, ‘अहिले हतार नगरौं, समय छ नि!’
भट्टराईका अनुसार भण्डारीको जिम्मेवारीका विषयमा बिहीबार कुनै निर्णय भएको छैन। पार्टीमा सक्रिय हुनुको लक्ष्य र उद्देश्यबारे भण्डारीले प्रस्ट पार्नुपर्ने र त्यसो गरे सम्मानजनक ढंगले व्यवस्थापन हुने भट्टराईको भनाइ छ। सबै सेवासुविधा त्यागेर आएपछि अध्यक्षले वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने पनि सचिव भट्टराईले बताए।
सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको प्रस्तावमाथि छलफल भयो। पार्टीभित्र वरिष्ठ उपाध्यक्ष हटाएर पदाधिकारीको संख्यासमेत घटाउने विषयमा छलफल भएको छ। जनसंगठनमा पनि वरिष्ठ उपाध्यक्षको पद हटाइएकाले पार्टीमा पनि नराख्ने गरी छलफल गरिएको हो। यो विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था हटाएर केपी ओलीलाई नै नेतृत्वमा निरन्तरता दिने गरी छलफल अघि बढाइएको स्रोतले जनाएको छ।
एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सात गरी १९ पदाधिकारी छन्। वरिष्ठ उपाध्यक्ष र केही पदाधिकारी घटाएर ११ जना मात्र राख्ने प्रस्ताव प्रस्तुत भएको छ। सचिवालय बैठकमा पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा यो विषय उल्लेख गरिएको छ। एक पदाधिकारीका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिवको प्रस्ताव गरिएको हो। प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले धारणाा राखेका थिए।
भण्डारीलाई तत्काल नेतृत्व दिन सकिँदैन: ओली
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल पार्टीको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन्। उनले राष्टूपतिजस्तो गरिमामय पदबाट अवकाश प्राप्त व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा फर्कने विषय नैतिक र प्रणालीगत रूपमा जटिल भएको समेत औंल्याउँदै पार्टीको नेतृत्व दिन नसकिने बताएका हुन्। पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा पूर्वराष्टूपति भण्डारीको सक्रिय राजनीतिमा फर्किएको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन,’ अध्यक्ष ओलीले भने, ‘एक त उहाँ पार्टी काम छाडेर धेरै वर्षबाहिर जानुभएको छ। दोस्रो, पार्टीले त्यो ठानेको, मानेको अवस्था छैन।’ राष्टूपति पदको गरिमा र भूमिकाबारे विस्तृत व्याख्या गर्दै उनले राष्टूपति राष्टूको साझा र सम्मानित अभिभावक भएको सुनाए। ‘राष्टूपति भनेको सिंगो देशको, सिंगो राज्यका सबै अंगको प्रमुख हो,’ उनले भने, ‘राष्टूपति हुनुभन्दा अगाडि उहाँले पार्टी परित्याग गरेको हुनुपर्छ। पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्टूप्रमुखको भूमिकामा अभिभावकत्व दिन्छु भन्ने भावका साथ जाने हो।’
उनले पूर्वराष्टूपति डा. रामवरण यादवले मर्यादित स्थिति बसालेको र विद्यादेवी भण्डारीले पनि आफ्नो कार्यकालमा सोही निष्पक्ष भूमिका निर्वाह गरेको सुनाए।
तर एकपटक राष्टूको सर्वमान्य नेता भइसकेको व्यक्ति पुनः एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा त्यसले प्रणाली र समाजमा पार्ने असरबारे गम्भीर विमर्श हुनुपर्ने उनको भनाइ थियो। पूर्वराष्टूपति भण्डारीको सक्रिय राजनीति नियोजित हो कि भन्ने प्रश्नमा अध्यक्ष ओलीले यसलाई अस्वीकार गरे। उनले भने, ‘यस्तो खालको हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ।’
उनले पूर्वराष्टूपति भण्डारीले सक्रिय राजनीतिमा फर्कनेबारे पार्टीमा कुनै आधिकारिक प्रस्ताव नआएको र आफूसँग पनि कुनै सरसल्लाह नभएको स्पष्ट पारे। यद्यपि उनले यो विषयमा पार्टीले उपयुक्त समयमा छलफल गरेर निर्णय लिने बताए। ‘उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ,’ ओलीले भने, ‘तर धेरै ढिलो त गर्दैनौं।’नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया