काठमाण्डौः राजनीतिक दलहरूबीच आन्तरिक शक्ति संघर्ष चर्कंदै जाँदा नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधान संशोधनदेखि भावी सभापतिसम्मको बहसलाई सतहमा ल्याइदिएका छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा भेला भएका पूर्वपदाधिकारीहरूले कांग्रेसको भावी महाधिवेशनदेखि संविधान संशोधनसम्ममा एउटै धारणा बनाएर जान प्रारम्भिक बहस थालेको बताएका छन् ।
सोमबारको चाक्सिबारी बैठकमा सहभागी प्रकाशशरण महतबाहेक सबै पूर्वपदाधिकारी हुन् । बैठकमा सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला र गोपालमान श्रेष्ठ सहभागी थिए ।
महतबाहेक छलफलमा जुटेका सबै भावी महाधिवेशनमा सभापतिका आकांक्षीसमेत हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा दोहोरिने संकेतहरू देखिन थालेपछि सभापति शेरबहादुर देउवाले समेत आफूलाई ओलीकै बाटोमा अघि बढाउन खोजिरहेका छन् ।
के–के विषयमा भयो छलफल ?
– कांग्रेस–एमाले सातबुँदे सहमतिको समीक्षा
– एमालेसँगको सहकार्य समीक्षा
– कांग्रेसको भावी नेतृत्वमा एकमनाको बहस
– संवैधानिक नियुक्तिमा चासो
– संगठन संरचना चलायमान बनाउने विकल्पको खोजी
देउवा पुनः सभापतिका रूपमा अघिबढ्ने संकेत देखिएपछि विगतमा संस्थापनइतर पक्षमा उभिएका सबै सम्भावित सभापतिका दाबेदारहरू भेला भएर एकजुट हुँदै गएको देउवालाई सन्देश दिएको सहभागी एक नेताले बताए ।
भेटमा एमाले र कांग्रेसबीच सरकार निर्माणका लागि भएको सातबुँदे सहमतिको दोस्रो बुँदामा रहेको संविधान संशोधनका विषयमा छलफल भएको बैठकमा सहभागी नेता सिटौलाले बताए । सिटौलाका अनुसार बैठकले सरकारको कामकाज, संविधान संशोधनदेखि कांग्रेसको संगठन संरचना र भावी महाधिवेशनका विषयमा छलफल गरेको छ ।
बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेसँगको सहमतिमा उल्लेख भएका संविधान संशोधनबाहेक सत्ता हस्तान्तरणको विधि र समयका विषयमा समेत नेताहरूबीच छलफल भएको छ ।
छलफलमा उनीहरूले कांग्रेसमा समेत आन्तरिक छलफल र विचारको मन्थन कमजोर भएको, सभापतिको निर्देशन मात्रै पार्टीको आधिकारिक लाइन हो भन्ने कार्यकर्ता तहमा बुझाइ गएको लगायतका विषय गम्भीर भएकाले यसलाई सच्याएर जाने विषयमा छलफल भएको एक नेताले बताए ।
यस बैठकलाई पूर्वपदाधिकारीहरूले छलफलको प्रस्थान बिन्दु भन्दै पार्टीका आन्तरिक समस्या’bout पार्टी सभापति देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । सरकार सञ्चालनका विषयमा देखिएका कमजोरी र समस्या तथा संवैधानिक पदहरूको नियुक्तिमा हुने भागबन्डालगायतका विषयमा प्रधानमन्त्री ओलीसँग बसेर सामूहिक र एकल रूपमा छलफल गरेर अघि बढ्ने निष्कर्षका साथ नेताहरू चाक्सिबारी बैठकबाट उठेका थिए । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया