श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस रिझाउन एमाले राजनीतिक प्रतिवेदनमा दलीय दृष्टिकोण ‘गायव’

सत्ता सहकार्यमा असर पुग्ने ठानेर प्रतिवेदनमा दललाई हेर्ने दृष्टिकोणबिनै मौखिक प्रतिवेदन पेस गरेर ‘टारटुर’ पारेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्ता सहयात्री दल नेपाली कांग्रेसलाई ‘सत्रु राजनीतिक शक्ति’ उल्लेख गर्नुपर्ने बाध्यताका कारण नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा पेस हुने राजनीतिक दलप्रतिको दृष्टिकोण नै गायव पारेको छ ।

सोमबारबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कांग्रेसलाई हेर्ने परम्परागत दृष्टिकोण उल्लेख गरे सत्ता सहकार्यमा असर पुग्ने ठानेर प्रतिवेदनमा दललाई हेर्ने दृष्टिकोणबिनै मौखिक प्रतिवेदन पेस गरेर ‘टारटुर’ पारेका छन् ।

वामपन्थी राजनीतिक दलका बैठकमा पेस हुने प्रतिवेदनमा वर्ग पक्षधरता तथा अन्य राजनीतिक पार्टीलाई हेर्ने वर्गदृष्टिकोणसहितको विश्लेषण समावेश हुन्छ ।एमालेको हरेक बैठकमा पेस हुँदै आएको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई ‘प्रधान सत्रु’का रूपमा चित्रण गर्दै आएकामा एमाले–कांग्रेस गठबन्धन भएपछि एमाले पन्छिन थालेको छ ।कांग्रेस रिसाएर सत्ता समीकरणमा असर पर्नसक्ने देखेर एमाले दस्तावेजमै कांग्रेसप्रति ‘सफ्ट’ भइरहेको छ । त्यसकै शृंखलाका रूपमा ओलीले राजनीतिक प्रतिवेदन नै नल्याएर पन्छिएका छन् ।

‘कम्युनिस्ट पार्टीको बैठकमा राजीतिक प्रतिवेदन पेस हुँदै आएको छ, त्यसमा अन्य प्रतिस्पर्धी राजीतिक दलहरूको चरित्रलगायतका विषयमा चित्रण गरिएको हुन्छ । हरेक केन्द्रीय कमिटी बैठकमा कांग्रेसलाई प्रधान सत्रुका रूपमा एमालेले व्याख्या गर्दै आएको छ । तर, यस पटकको बैठकमा त्यसरी उल्लेख गर्न नसकिएरै प्रतिवेदन आएन,’ एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष कमरेडले कांग्रेसलाई प्रधान सत्रु भनेर लेख्न हात काँप्यो होला त्यही भएर मौखिक रूपमै आयो ।’

ती केन्द्रीय सदस्यले कांग्रेसलाई वर्गसत्रु लेखौं कांग्रेस चिढिने, कांग्रेस सहयात्री भनौं दस्तावेजको इतिहासमा कलंकित हुने भएपछि अध्यक्षले उम्कने बाटो खोजेको बताए ।

कांग्रेससँग गठबन्धन गर्दै यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कांग्रेसका पिछलग्गु भन्ने एमालेलाई अहिलेको गठबन्धनलाई दस्तावेजमा स्थापित गराउनु अप्ठेरो भएको पार्टीका पुराना नेताहरूको बुझाइ छ ।

प्रवक्ता नबन्न अध्यक्षको चेतावनी

बैठकको प्रारम्भ गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपतिको प्रवक्ता नबन्न चेतावनी दिएका छन् । भण्डारीका ’बारेमा पार्टीदेखि सार्वजनिक रूपमै आइरहेका विभिन्न विषयप्रति इंगित गर्दै ओलीले प्रवक्ता बन्न आवश्यक नभएको टिप्पणी गरे । ‘उहाँ (भण्डारी) आफैंले अहिलेसम्म केही बोल्नुभएको छैन, अरू प्रवक्ता बन्न आवश्यक छैन,’ बैठकमा ओलीले भने ।

अध्यक्ष ओलीले भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति असन्तुष्टिसमेत पोखेका छन् । उनले निर्वाचन हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा स्पष्ट रूपमा राखिएको र पूर्वराष्ट्रपति भण्डारीको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्ने बताए ।

‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ, उहाँ (भण्डारी)ले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ, उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले भने ।

भण्डारी च्यासल आउँदा आफैं निर्वाचन गराएर हारेका समूह पनि देखिएको उनले बताए । जो भण्डारी पशुपति जाँदासमेत देखिएको भन्दै उनले भने, ‘कहाँ भेट्ने ? भन्ने प्रश्नमा उहाँले पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो तर उहाँ आउँदा केही असन्तुष्ट र आफैं निर्वाचन गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

आइतबार च्यासल पुगेका अनेरास्ववियु अध्यक्षमा पराजित प्रकाश पौडेल, युवा संघको अध्यक्षमा पराजित सुमन पुरीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेको एमाले नेताहरूको दाबी छ । ओलीले २०८४ सालको निर्वाचनमा बहुमत ल्याउनबाट एमालेलाई कसैले रोक्न नसक्ने दाबीसमेत गरे । ‘एकताबद्ध र एकढिक्का भएर अघि बढ्ने हो, एकताबद्ध भएर अघि बढ्दा २०८४ सालमा हामीलाई बहुमत ल्याउन कसैले रोक्दैन, छेक्न सक्दैन,’ ओलीले भने ।

उनले केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल बनाउन सम्भव नरहेको पनि दोहो¥याए । उनले केही तत्वले केपी ओलीबिनाको एमाले र एमालेबिनाको नेपाल बनाउन चाहेको भए पनि अहिले पार्टीले सरकारको नेतृत्व गरेको १३ महिना भइसकेको स्मरण गराए ।

ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिए । पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने बताए । पछिल्लो समयमा एमालेको पार्टी सदस्यता १ लाख ३९ हजार (२८ प्रतिशत)ले वृद्धि भई संगठनात्मक रूपमा मजबुद भएको समेत उनले बैठकलाई जानकारी गराएका छन् ।

विधान र संगठन संरचनामा बहस

प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै, बैठकमा विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा समेत छलफल हुँदै छ ।

आगामी २२ र २३ भदौमा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदै छ । पार्टीको विधानलगायतका विषयमा महाधिवेशनले छलफल र निर्णय गरेपछि सोही आधारमा महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ ।

केन्द्रीय कमिटी बैठक बस्नुभन्दा अघि गत साता सचिवालय र पोलिटब्युरो बैठकमा प्रस्तावित विधानलगायतका विषयमा छलफल भएको थियो । सचिवालय र पोलिटब्युरोबाट पारित प्रस्तावित विधानबारेमा केन्द्रीय समितिले छलफल गरी पारित गरेपछि विधान महाधिवेशनमा छलफल हुन्छ ।

प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव एक, सात जना सचिव गरी १५ पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउन प्रस्ताव गरिएको छ । यस्तै, केन्द्रीय सचिवालय हटाउने प्रस्ताव आएको छ । अब एमालेमा तीन तहका संरचना (स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी) मात्र प्रस्ताव गरिएको छ ।

यस्तै, ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावसमेत भएको छ । पालिकादेखि केन्द्रीय कमिटीसम्म पदाधिकारीमा एउटै पदमा दुई कार्यकालभन्दा बढी आउन नपाउने व्यवस्था हटाएर अब जतिपटक पनि आउनेगरी संशोधन गर्न खोजिएको हो ।

यसअघि यस व्यवस्थाको विरोधमा रहेका ओलीले आफ्नै लागि विधानमा संशोधन प्रस्ताव गर्न लागेको एमालेकै नेताहरूले आरोप लगाएका छन् । दुई कार्यकाल अध्यक्ष र पटकपटक प्रधानमन्त्री भएका ओली ७३ वर्ष पुगिसकेका छन् । अहिलेको विधानअनुसार तेस्रो कार्यकालका लागि उनी अध्यक्ष हुन पाउँदैनन् । त्यसैले विधानमै ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव आएको हो ।

विद्या भण्डारीः कोही पक्ष, कोही विपक्षमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा सक्रियता बढाएपछि नेताहरू त्यसको पक्ष र विपक्षमा उभिएका छन् । पार्टीमा ठोस जिम्मेवारीको आशा राखेकी भण्डारीलाई कुनै जिम्मेवारी दिने कि नदिने भन्ने ’बारेमा केन्द्रीय कमिटीमा नेताहरू विभाजित देखिएका हुन् ।

सोमबारदेखि एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले थरीथरीका सुझाव दिएका छन् । कसैले भण्डारीलाई पार्टीमा ‘स्पेस’ ठोस जिम्मेवारी दिनुपर्ने भन्छन् भने कसैले नेपाली सेनाको परमाधिपति राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउन नहुने सुझाव दिएका छन् ।

एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउने इच्छा राखेकाले उनलाई पार्टीले ठोस जिम्मेवारी दिनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् । ‘पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउने इच्छा राख्नु गलत होइन, यदि उहाँ (भण्डारी) राजनीतिमा आउन खोज्नुभएको हो भने पार्टीले ठोस जिम्मेवारी दिनुपर्छ, यसले पार्टी पनि बलियो र मजबुत हुन्छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सक्रिय राजनीति’बारेमा सापकोटाले यस्तो बताउँदैगर्दा अर्का केन्द्रीय सदस्य केदार सिग्देलले सम्मानित जिम्मेवारीमा पुगेकी भण्डारी राजनीतिमा फर्किनु नहुने धारणा राखेका छन् ।

‘राष्ट्रपति नेपाली सेनाका परमाधिपति पनि हो, उहाँ (भण्डारी) सम्मानित ठाउँमा पुगेपछि फेरि सक्रिय राजनीति, पार्टीको राजनीतिमा आउनु ठीक होइन, जुन किसिमले बाहिर चर्चा छ, त्यो ठीक होइन, यस्तो प्रवृत्तिले पार्टीलाई नोक्सानी गर्छ, व्यवस्था र लोकतन्त्रलाई नै चुनौती हो,’ बैठकमा सिग्देलले भने ।

बैठकमा भण्डारीको पक्ष र विपक्षमा धारणा आउँदैगर्दा अर्का केन्द्रीय सदस्य राजीव पहारीले अहिले एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको धारणा राखे । उनले पार्टीलाई एकताबद्ध बनाउन, आगामी निर्वाचनमा बहुमत ल्याउन ओलीको विकल्प नभएको पहारीले जनाएका छन् । उनले आउँदो महाधिवेशनबाट समेत ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने बताए ।

सोमबारको बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । उनीहरूले भण्डारीको सक्रिय राजनीति’बारेमा केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने समेत नेतृत्वको ध्यानाकर्षण गराएका छन् । कतिपय नेताहरू कसैको पक्ष वा विपक्षमा नरही पार्टीलाई एकताबद्ध बनाउनेगरी अगाडि बढ्नुको विकल्प नभएको समेत धारणा राखेका छन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार