काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रष्ट पारेकी छन् ।
आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् ।
भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने समेत प्रष्ट पारेकी छन् । उनले जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । उनले भनिन्, ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।’
एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार रहेको भण्डारीले घोषणा गरेपछि एमालेभित्र मतभिन्तता देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले भने भण्डारीलाई एमालेमा फर्किन नदिने बताइरहेका छन् ।
१४ असारमा भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएको निर्णय सुनाएकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया