काठमाडौँ । सभामुख देवराज घिमिरेले आज दिउँसो कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर सङ्घर्ष गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गर्नुभएको छ । उहाँले रास्वपा कार्यवाहक सभापति ढिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गर्नुभयो ।
सभामुख घिमिरेले भन्नुभयो– ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईँहरूबिच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरू कोही सभामुख भए पनि संसद् चलाउनुपर्ने बाध्यात्मक स्थिति छ ।
सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । तर हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ । संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’
कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरिरहेको र विपक्षीलाई नजरअन्दाज गर्ने पक्षमा नरहेको भन्दै सहमतिका लागि आग्रह गर्नुभयो ।
रास्वपा कार्यवाहक सभापति अर्यालले गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।
राप्रपा उपाध्यक्ष तामाङले विपक्षीले उठाएको भिजिट भिसा प्रकरणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया