श्रावण ७, २०८२ बुधबार July 23, 2025

हवाई दुर्घटनामा ऐतिहासिक फैसला

यूएस–बंगला एयरलाइन्सका पीडितलाई ३७ करोड ६६ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं जिल्ला अदालतले लापरबाहीकै कारण यूएस बंगला विमान दुर्घटना भएको ठहर गर्दै घाइते व्यक्ति र मृतकका परिवारलाई साढे ३७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले दुर्घटना पाइलट र को–पाइलटकै लापरबाहीका कारण भएको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

जिल्ला अदालतले घाइते व्यक्ति र मृतकका परिवारलाई ३७ करोड ६६ लाख ४७ हजार ५ सय ४६ रुपैयाँ ९६ पैसा क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । यो रकम फैसला भएको दिन आइतबारको अमेरिकी डलरको सटहीअनुसार हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले अदालतले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जानकारी दिए । ‘१७ जना वादी (पीडित) भई क्षतिपूर्ति भराई पाऊँ भनेर यूएस बंगला विमान कम्पनीसहितलाई विपक्षी बनाएर मुद्दा हालिएको थियो,’ श्रेष्ठले भने, ‘वादी सबै जनालाई यूएस बंगला एयरलाइन्स कम्पनीका तर्फबाट क्षतिपूर्ति भराउने फैसला भएको हो ।’

बंगलादेशको ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको क्यानेडाली विमान बमबार्डियर ड्यास८ क्यू४०० विमान २८ फागुन २०७४ मा अवतरणका क्रममा दुर्घटना भएको थियो । सो विमानमा चालक दलका ४ सदस्य र ६७ जना यात्रुसहित कुल ७१ जना सवार थिए । दुर्घटनामा चालक दलका सबै ४ जना र यात्रुतर्फ ४७ जना गरी ५१ जनाको निधन भएको थियो ।

सो दुर्घटनापछि १५ साउन २०७६ मा ७ थान र २८ फागुन २०७६ मा १० थान फिराद मुद्दा दायर भएको थियो । ती दुई थान मुद्दालाई एउटैमा राखेर जिल्ला अदालत काठमाडौंले आइतबार फैसला सुनाएको हो । मुद्दा दर्ता भएको करिब ६ वर्षपछि काठमाडौं जिल्ला अदालतले मृतकका परिवार र घाइतेलाई जीवनभर कमाउनसक्ने रकमबराबर क्षतिपूर्ति भराउनेगरी फैसला सुनाएको हो ।

फैसलामा मृतक १६ जनाको परिवारलाई प्रतिव्यक्ति न्यूनतम ६२ लाख ४४ हजार रुपैयाँदेखि अधिकतम ३ करोड ६७ लाख ४३ हजार रुपैयाँसम्म क्षतिपूर्ति भराउन भनिएको छ । मृतकका हकमा नर्सिङ पेसामा संलग्न ज्ञानीकुमारीको परिवारलाई सबैभन्दा कम ६२ लाख ४४ हजार ८ सय ६४ रुपैयाँ १६ पैसा र सबैभन्दा बढी वरिष्ठ न्युरो सर्जनसमेत रहेका बालकृष्ण थापाको परिवारलाई ३ करोड ६७ लाख ४३ हजार ७ सय ६३ रुपैयाँ १० पैसा क्षतिपूर्ति भराउन भनिएको छ ।

मृतक ज्ञानीकुमारीको हकमा प्रमोद बुढाथोकीसमेत र डा. थापाको हकमा गम्भीरध्वज थापासमेतले मुद्दा दायर गरेका थिए । सो दुर्घटनामा मृत्यु हुने नेपाली नागरिकमा बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेकाहरू सञ्जय महर्जन, मिली महर्जन, निगा महर्जन, एन्जिला महर्जन, आसना श्रेष्ठ, श्रेया झा, प्रिन्सी धामी, स्वेता थापा, सञ्जय पौडेल, पूर्णिमा लोहनी, एन्जिला बराल, चारु बराल, सरुना श्रेष्ठ, हिमालयन एअरलाइन्सका सहायक अफिसर प्रसान्न पाण्डे, नर्स ज्ञानीकुमारी र वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापा थिए । यसैगरी, बंगलादेशमा एमबीबीएस अध्ययन गरिरहेकी समिरा व्यञ्जनकार घाइते भएकी थिइन् ।

मृतकका हकमा उनीहरूका आफन्त र घाइतेको हकमा समिरा स्वयंले अदालतमा मुद्दा दायर गरेका थिए । काठमाडौं जिल्ला अदालतले एमबीबीएस अध्ययनरत सञ्जय, मिली, निगा, एन्जिला, आसना, श्रेया र प्रिन्सीको हकमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति २ करोड, ३४ लाख ८७ हजार २ सय ६३ रुपैयाँ ५० पैसा, एमबीबीएसमै अध्ययनरत स्वेता, सञ्जय, पूर्णिमा, एन्जिला, चारु र सरुनाका परिवारलाई प्रतिव्यक्ति २ करोड ४७ लाख ३२ हजार ८ सय ५६ रुपैयाँ ८० पैसा क्षतिपूर्ति भराउन भनेको छ ।

यसैगरी, हिमालयन एअरलाइन्सका सहायक अफिसर प्रसान्नको परिवारलाई १ करोड ४७ लाख ४५ हजार ५ सय ५६ रुपैयाँ ९० पैसा र घाइते समिरालाई ६१ लाख ५ हजार ३ सय ७६ रुपैयाँ ५० पैसा क्षतिपूर्ति दिन भनेको छ ।

दुर्घटनापछि भएका विभिन्न छानबिनले पनि विमानका पाइलट अविद सुल्तानको लापरबाही र कमजोरीका कारण विमान दुर्घटना भएको तथ्य सार्वजनिक गरेको थियो । दुर्घटनाको कारकमा पाइलट सुल्तान मानसिक तनावमा रहेको, को–पाइलटलाई इम्प्रेस गर्न खोज्दा दुर्घटना भएको, ककपिटभित्रै चुरोट पिएको लगायतका विषय औंल्याइएको थियो ।

जिल्ला अदालतले फैसला सुनाउँदा ‘वारसा कन्भेन्सन’अनुसार विमानका चालक वा कम्पनीका कारण दुर्घटना हुँदा असीमित दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । पछि वारसा सम्झौतालाई ‘मोन्ट्रियल’ सम्झौताबाट केही हदसम्म क्षतिपूर्तिको रकम परिवर्तन गरेको थियो भने क्षतिपूर्तिलाई थप उत्तरदायी बनाउने चेष्टा गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा १५ साउन २०७५ मा दायर भएको फिरादमा विमान दुर्घटना चालक वा विमान कम्पनीको लापरबाहीका कारण भएकाले असीमित दायित्वअन्तर्गत मृतक र घाइतेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र क्षतिपूर्ति भराउँदा ‘ओग्डन टेबल्स’का आधारमा क्षतिपूर्ति भराउनुपर्ने माग रहेको थियो ।

सुरुमा फिराद दर्ता गर्दा मृतक तथा घाइतेका परिवारका सदस्यहरू लक्ष्मी अवाले, श्यामकुमार महर्जन, दिना महर्जन, यशोदा श्रेष्ठ, रूपाप्रभा शाक्य, लक्ष्मण झा मैथिल बाहुन र मनोज धामीले फिराद दर्ता गराएका थिए । उनीहरूले फिराद दर्ता गराउँदा लिएका आधारहरूमा दुर्घटना पाइलटको लापरबाहीका कारणले भएका कारण क्षतिपूर्ति दायित्व सीमित नभई असीमित हुने र असीमित क्षतिपूर्ति भराउँदा वारसा सम्झौता र ‘मोन्ट्रियल’ सम्झौताअनुसार भविष्यमा कमाउने रकम, किरिया, आश्रित परिवार सबैको खर्च जोडेर क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले लिएको मागमा भनिएको थियो, ‘…उक्त दुर्घटनामा क्याप्टेन र को–पाइलटको चरम लापरबाही भएको थियो, कुनै पनि क्याप्टेन र को–पाइलटको पहिलो कर्तव्य भनेको वायुयान अवतरण गर्नुपूर्व वायुयान रनवेको ठीक सेन्टरमा छ कि छैन भन्ने हेर्नुपर्छ, यदि छैन भने वायुयानलाई ‘गो अराउन्ड’ गराई पुनः अवतरण गर्नुपर्ने हुन्छ, अर्को कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारको टफ एयरपोर्टको वर्गीकरणभित्र पर्ने गर्दछ तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार ल्यान्डिङ गर्ने क्रममा लङ फाइनल एप्रोच एवं सर्ट फाइनल एप्रोच गर्दा पनि भीएफआरअन्तर्गत मात्र गर्न पाइन्छ ।

यसरी रनवे सेन्टरमा छैन भन्ने देख्दादेख्दै जबर्जस्ती ल्यान्ड गर्न खोज्नु र वायुयान अनियन्त्रित भई दुर्घटना हुनु चालकहरूको चरम लापरबाहीको कारणले हो । सो तथ्यलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको धारा २६ एनेक्स १३ अनुसार गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ बमोजिम गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदनमा प्रस्ट रूपमा उल्लेख गरेको छ, जसको प्रमाणित प्रतिलिपि यसैसाथ संलग्न गरेका छौं ।’

यस्तै, मागमा भनिएको थियो, ‘…सोको अतिरिक्त क्याप्टेन अविद सुल्तान मानसिक तनाव र भावनात्मक रूपमा अशान्त रहनुका कारण वायुयान अवतरण गर्नुपर्दा अपनाउनुपर्ने आइकाओको अन्तर्राष्ट्रिय मापदण्डको कुनै ख्याल नगरी दुर्घटना भई यात्रुलाई क्षति हुनसक्ने सम्भावित दुष्परिणामतर्फ कुनै ध्यान नै नदिई अनावश्यक, गैरव्यावसायिक र लामो कुराकानीमै व्यस्त रही ककपिटमा रहँदा गरिनुपर्ने सबै मापदण्डलाई उल्लंघन गरी चुरोटसमेत पिइरहेको उक्त प्रतिवेदनमा प्रस्टसँग उल्लेख गरिएको छ । यसैगरी, जाँचबुझ आयोगको आफ्नो प्रतिवेदनको प्रकरण ३.२.१ मा सम्भावित कारणहरूका ’boutमा उल्लेख गरेको छ । जसअनुसार उक्त वायुयान दुर्घटना ‘क्रू मेम्बर’को कमजोरीकै कारण भएको भएको भन्ने उल्लेख भएको छ ।’

यी विषयलाई लिई सो विमान दुर्घटना पाइलटकै गल्तीका कारण भएका कारण यो असीमित दायित्वमा पर्ने भएकाले ‘ओग्डन टेबल्स’का आधारमा क्षतिपूर्ति माग दाबी लिइएको थियो । सो फिराद दाबीअनुसार नै काठमाडौं जिल्ला अदालतले १७ जना व्यक्तिलाई क्षतिपूर्ति भराउन विपक्षी यूएस बंगला विमान कम्पनीका नाममा आदेश दिएको हो ।

पछिल्लो समय सरकारले आन्तरिक वायुसेवा प्रदायक कम्पनीले विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारलाई १ लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने गरी विधेयक तयार गरेको छ । प्रस्तावित ‘आन्तरिक वायुसेवाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ले अधिकतम १ लाख अमेरिकी डलरको सीमामा रहेर क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया