काठमाण्डौ, साउन ७ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीमा आफूलाई काम दिन नसकिए लामो समय बस्न नसक्ने चेतावनी दिनुभएको छ।
कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै गौतमले पद होइन, कार्यक्षेत्र आवश्यक रहेको स्पष्ट पार्नुभयो। “म कुनै विशेष पदको आकांक्षी होइन,” उहाँले भन्नुभयो, “तर, काम दिने हो भने आवश्यक पद सिर्जना गरेर दिनुस्, म जिम्मेवारी सम्हाल्न तयार छु।”
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा गौतमले पार्टी एकता मात्र होइन, कार्य विभाजन पनि आवश्यक रहेको तर्क गर्नुभयो।
गत साउन २ गते गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)बीच औपचारिक एकता घोषणा भएको थियो। तर, एकतापछि कार्यविभाजन र भूमिकाबारे स्पष्टता नआएकाले नेता गौतमले असन्तोष पोख्दै आफ्नो सक्रिय भूमिकाको माग गर्नु भएको हो।
पार्टीभित्र आफूजस्तो अनुभवी कार्यकर्तालाई काम नदिने हो भने निरर्थक रुपमा पार्टीमा बसिरहनुको औचित्य नरहने पनि उहाँको संकेत थियो। “कामविनाको पद मलाई आवश्यक छैन,” उहाँले थप भन्नुभयो, “अब काम गरौं, संगठन बलियो बनाऔं।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया