श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर धमाधम घुस असुली

तत्कालीन मन्त्री गुप्तासँगै पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता दुवैजनाको बयान र भ्वाइस टेस्ट लिइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । बहालवाला मन्त्री र पूर्वमन्त्री मिलेर कर्मचारी सरुवा तथा जग्गा दर्तालगायतका विभिन्न काम गरिदिने भन्दै सेवाग्राहीसँग धमाधम घुस असुलेको करिबकरिब पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला परेको बताइएको छ । उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी घुस असुली गरेको स्रोतको दाबी छ ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । अख्तियारले मन्त्री गुप्ताको छानबिन गर्ने क्रममा श्रेष्ठ पनि घुस प्रकरणमा संलग्न देखिएका प्रमाणहरू फेला पारेको स्रोतले जानकारी दिएको छ । अख्तियारले घुस प्रकरणमा बुधबार पूर्व भूमिव्यवस्था मन्त्री श्रेष्ठसँग बयान लिनुका साथै भ्वाइस टेस्ट गरेको छ । यसअघि अख्तियारले मंगलवार यस प्रकरणमा पूर्वमन्त्री गुप्तासँग बयान लिँदै भ्वाइस टेस्ट गरेको थियो । गुप्ताको छानबिनकै क्रममा पूर्वमन्त्री श्रेष्ठले घुस रकम मागेको प्रमाण फेला परेको हो ।

यस प्रकरणमा अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसासमेत मागेको देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ । श्रेष्ठले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेरसमेत पैसा मागेको खुलेको हो । तर, पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप गलत भएको बताउनुभएको छ । अख्तियार स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘…..जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ ?’ भनी म्यासेज लेखेको भेटिएको हो ।

अख्तियार स्रोतका अनुसार तत्कालीन सामान्य प्रशासनमन्त्री र गुप्ता, पूर्व भूमिसुधार मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्री गुप्तालाई पैसा बुझाउने पोखराका ती व्यक्तिबीच निरन्तर सम्पर्क भएको खुलेको हो । त्यसमा पनि पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको भेटियो’अख्तियार स्रोतले भन्यो ।

मन्त्रिपरिषद्को बैठक बस्दैछ भन्ने सूचनादेखि ‘मलाई मन्त्री गुप्ताले कल गर्दैछ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियार स्रोतले जनाएको छ । मन्त्री श्रेष्ठ भूमिव्यवस्था मन्त्रीबाट हटेपछि बिचौलियाको भूमिकामा काम गर्न थालेको र बहालावाला मन्त्रीलाई घुसको व्यवस्थापन गर्दै स्वार्थअनुकूल काम गराउन थाल्नुभएको थियो । त्यसवापत पूर्वमन्त्री श्रेष्ठले पनि ठूलै रकम लिएको बताइएको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया