काठमाडौँ, ८ साउनः स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि)देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो ।
सरसफाइका क्रममा सङ्कलन भएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो । कुहिने फोहर मात्र ल्यान्डफिल साइट पठाइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान गरिएको छ ।
नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिना मेलाको अवधिमा स्वयम्भू चैत्यको दर्शन गर्न तथा धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने प्रचलन छ । नेपाल संवतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठबास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया