श्रावण ७, २०८२ बुधबार July 23, 2025

ढोरपाटनमा बाढीको वितण्डा : ३८ बेपत्ता, १४ जनाको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ‘मस्त निद्रामा रहेछु घरकै छेउबाट हेलिकोप्टर उडेको जस्तो आवाज कानमा ठोक्कियो’, बागलुङको ढोरपाटन नगरपालिका–८ का ४० वर्षीय भकारे कामी भन्नुहुन्छ– ‘झ्यालबाट चिहाएर हेरेको माथिबाट पहाड नै खसेजस्तो देखें ।’ ‘छेउमा सुतेकी श्रीमतीलाई हातले समातेर तानें त्यो बेलासम्म मुखबाट आवाज पनि निस्केको थिएन’, कामी भन्नुहुन्छ– ‘छोरालाई काख च्यापेर पाखातिर भाग्यांै ।’ घरमाथिको जंगलमा पुगेपछि मात्र पछाडि फर्केर हेरेका कामीको आँखैअगाडि उर्लिएर आएको भुजीखोलाले घर, गोठ सबै बगायो ।

बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओछ्याउने बगाए पनि परिवारका सबै सदस्य सकुशल हुँदा भने कामीलाई थोरै राहत महसुस भएको छ । स्थानीय भुजीखोलामा आएको बाढीले वडा नम्बर ८ र ७ मा पनि ठूलो जनधनको क्षति भयो । ढोरपाटन नगरपालिका–९ का ४१ जना बेपत्ता भएका छन् । १४ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ढोरपाटन नगरपालिका–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक र सोही ठाउँका ४५ वर्षीय करबहादुर विकको मात्र पहिचान भएको छ ।

अन्य ३ जना पुरुष, ५ जना महिला, ३ बालक र १ बालिका गरी ११ जनाको शवको थप पहिचान हुन सकेको छैन । ढोरपाटन नगरपालिका–९ बाट शुरु भएको बाढीले वडा नम्बर ८ र ७ मा पनि ठूलो क्षति पु¥याएको छ । भुजीखोलामा उर्लिएर जमिन थर्कने गरी आएको चर्काे आवाजले बिउँझिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतीकरुपमा क्षति भए पनि खोलाको तल्लो भेगमा मानवीय क्षति हुन नपाएको वडा नम्बर ७ का वडाध्यक्ष दीपक थापाले बताउनुभयो ।

नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीसहित स्थानीयको सहयोगमा ढोरपाटनदेखि गुल्मीको मुसिकोट नगरपालिका–५ को बडिगाड खोलाको बीच बगरबाट समेत शव निकालिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

बाढीले बगाएर ढोरपाटन नगरपालिका–९ द्वालका २२ वर्षीय जीवन विक, सोही ठाउँका २३ वर्षीय नारायण विक, उनको १ वर्षकी छोरी र २१ वर्षीया श्रीमती टेकमाया विक, सोही ठाउँका १६ वर्षीया मनीषा विक, घट्टेचौरकी २८ वर्षीया शनि विक र उहाँका १० वर्षीया छोरा रोशन विक र ५ वर्षीय छोरा रवि विक, सोही ठाउँका १५ दिने १ बालक, २६ वर्षीया मनकुमारी विक बेपत्ता भएका छन् ।

त्यसै गरी बेपत्ता हुनेमा ३० वर्षीय प्रेम पुन, ३० वर्षीया कुमारी विक, १५ वर्षीय समुन्द्र विक, १२ वर्षीया पुनम विक, ३१ वर्षीय जीतबहादुर घर्ती, ४४ वर्षीय राजु घर्ती, ३६ वर्षीय करमती बुढा, ३६ वर्षीया रिनाकुमारी घर्ती, २२ वर्षीया दिलमाया पुन, उहाँकी ४ वर्षीया छोरी प्रकृति पुन, ६१ वर्षीया डोटी पुन, ३६ वर्षीय हेमबहादुर विक, उहाँकी ३५ वर्षीया श्रीमती उजेली विक र उहाँहरुकै ९ वर्षीय छोरा दलु विक र १० महिनाको अर्काे छोरा रहेका छन् ।

त्यसै गरी ३८ वर्षीया हस्तमाया विक, ६५ वर्षीया तुलमती घर्ती, ५६ वर्षीया कौशिला पुन र उहाँका २१ वर्षीय छोरा विशाल पुन, २६ वर्षीया धनमाया विक र ३ वर्षको नाम नखुलेका एक जना बालक, स्थानीय बिरे विक, उहाँकी श्रीमती र दुई छोराछोरीसहित ४ जनाको परिवार, ढोरपाटन नगरपालिका–९ सुप्राङकै नाम र उमेर नखुलेका अन्य तीन जनासहित गलकोट नगरपालिका–४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २५ को नवीन भण्डारी गरी ४१ जना बाढीमा बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

ढोरपाटन नगरपालिका–९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते हुनुभएको छ । उहाँको शरीर र टाउकोमा चोट लागेको छ । सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते हुनुभएको छ । घाइतेको प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताउनुभयो ।

बाढीले ढोरपाटन नगरपालिका–९ मा मात्र ७१, ७ र ८ नम्बर वडाका २९ वटा घर पूर्णरुपमा बाढीले बगाएको छ । लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाको ५ वटा शाखामध्ये ४ वटा शाखा बगाएको वडाध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

यसैबीच राहतसहित बाढी प्रभावित क्षेत्र जिल्लाको ढोरपाटन नगरपालिकामा हिँडेका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली बीच बाटोबाटै फिर्ता भएको छ । भुजीखोलामा आएको बाढीले पु¥याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकोप्टरमार्फत उडेका गृहमन्त्री थापा मौमस खराबीपछि पोखरा विमानस्थलमा आकस्मिक अवतरण हुनुभएको थियो । मौसम खुलेपछि बाढी प्रभावित क्षेत्रका लागि उड्ने गरी साढे १ बेजसम्म पोखरामा बसेको गृहमन्त्रीसहितको टोली चढेको हेलिकोप्टर सम्भावना नदेखिएपछि काठमाडौं फर्किएको हो ।-नेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार