असोज २८, २०८२ मंगलबार October 14, 2025

नेतृत्व बदल्ने एजेन्डाले कांग्रेसको विवाद उत्कर्षमा

साझा एजेन्डा तय हुन नसक्दा पार्टीभित्र नेतृत्व र नीति परिवर्तनको बहस उत्कर्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मंसिरभित्रै विशेष वा नियमित महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा मत मिल्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिन पछाडि सरेको छ । जेन–जी विद्रोहपछि नेतृत्व परिवर्तनको दबाब बढिरहेका बेला आइतबारदेखि हुने भनिएको केन्द्रीय कार्यसमिति बैठक मंगलबार मात्र सुरु हुने भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत आमन्त्रण गरेर छलफल चलाइरहेको छ । जेन–जी आन्दोलनपछि पार्टीको नीति र नेतृत्व बदल्न मंसिरभित्रै नियमित महाधिवेशन गरिनुपर्ने, नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन् । उनीहरू पक्षका नेताहरूले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन ५० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरिसकेको दाबी गर्दै आएका छन् ।

संस्थापन पक्षका नेताहरू भने तत्काल विशेष वा नियमित महाधिवेशनको एजेन्डाले पार्टी विभाजन गराउने भन्दै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । हस्ताक्षर अभियानको पनि उनीहरूले कडा आलोचना गरेका छन् । हस्ताक्षर अभियान चलाएर पार्टी विभाजन गर्न खोजेको आरोप उनीहरूले महामन्त्री थापा र शर्मामाथि लगाएका छन् । समयमा नियमित महाधिवेशन हुन नसक्ने अवस्था बन्नुमा महामन्त्रीहरूकै कमजोरी रहेको उनीहरूको टिप्पणी छ । इतरपक्षका नेताहरू भने संस्थापन पक्षले २१ फागुनको निर्वाचनलाई हेरेर महाधिवेशनमा जान नचाहेको आरोप लगाउँछन् ।

पार्टीको नेतृत्व लिन हतार गरेको भनी संस्थापन पक्षले आफूमाथि आरोप लगाएपछि महामन्त्री थापाले खण्डन गरेका छन् । शनिबारको बैठकमा थापाले आफूले सभापतिका लागि यो सब नगरेको प्रस्टीकरण दिए । ‘म सभापति र पदाधिकारी नभई केन्द्रीय सदस्यका रूपमा काम गर्न तयार छु, सभापति हुन खोजिरहेको छैन,’ उनले भने, ‘२३ र २४ भदौअघिको नेपाल र त्यसपछिको नेपाल एउटै होइन । हामीले पार्टीलाई आमूल रूपान्तरण नगर्ने हो भने यसको सान्दर्भिकता बचाउन सक्दैनौं ।’ उनले सभापति शेरबहादुर देउवालाई अब धेरै दुःख नदिन पनि सबैसँग आग्रह गरे । ‘मैले पटकपटक भन्दै आएको छु, सभापतिलाई जति बढी दुःख दिन्छौं, त्यति बढी पीडा हुन्छ, यस्तो दुःख नदिऔं,’ उनको भनाइ थियो ।

जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएयता सभापति देउवा सार्वजनिक भएका छैनन् । पदाधिकारी र पूर्वपदाधिकारीको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा भने देउवा आफैंले अध्यक्षता गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार शनिबारसम्म केन्द्रीय कार्यसम्पादन समितिका ३२ जनाले धारणा राखेका छन् । अझै केही नेताले बोल्न बाँकी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्म सारेर साझा एजेन्डा तय गर्ने प्रयास जारी भइरहेको पौडेलले बताए ।

२१ फागुनका लागि घोषित निर्वाचनअघि पार्टीभित्र आमूल रूपान्तरण नभए निर्वाचनमा कांग्रेस कमजोर हुने तर्क महामन्त्रीहरूको छ । विशेष महाधिवेशनको अभियान सम्हालिरहेका युवा नेता गुरुराज घिमिरेले विशेष महाधिवेशन बोलाउनका लागि देशभरबाट करिब २३ सय महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरे । कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू ४ हजार ७ सय ४५ छन् । यसबीचमा कतिपयको निधन भएकाले यो संख्या घटेको संस्थापन इतरपक्षको भनाइ छ ।

आइतबारको केन्द्रीय कार्यसमिति बैठकअघि हस्ताक्षरसहितको निवेदन सानेपास्थित पार्टी कार्यालयमा बुझाउने तयारी थियो । केन्द्रीय कार्यसमिति बैठक सरेपछि निवेदन आइतबार नै दर्ता गर्ने वा सोमबार भन्नेमा छलफल भइरहेको घिमिरेले बताए । ‘हामीले ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर पुर्‍याइसकेका छौं, त्यसको रुजु कार्य भइरहेको छ, पदाधिकारी तथा पूर्वपदाधिकारीले जस्तो एजेन्डा तय गरे पनि विशेष महाधिवेशनको माग राखेर हस्ताक्षरसहित निवेदन दिने निर्णय हामीले गरिसकेका छौं,’ उनले भने ।

छोटो बाटोबाट मंसिर अन्तिम साताभित्र महाधिवेशन गर्न सकिने महामन्त्री थापाको भनाइ छ । तर तयारी अवधि र सहभागिताको कारण देखाएर संस्थापन पक्षका नेताहरूले तिथि तोक्न मानिरहेका छैनन् । ‘२१ फागुनमा निर्वाचन भइहाल्यो भने आफूहरूको हातमा केही हुन्न भन्ने ठानेर होला, छोटो प्रक्रिया अपनाएर मंसिरमा नियमित महाधिवेशन गर्न संस्थापन पक्षले मानिरहेको छैन,’ इतरपक्षका एक नेताले भने, ‘तर अहिलेकै नेतृत्व राखेर चुनावमा जान सकिन्न । जसरी पनि महाधिवेशन गरेर नीति र नेतृत्व दुवै बदल्नुपर्छ ।’ अर्का एक नेताका अनुसार नेता कृष्णप्रसाद सिटौलाले नै देउवालाई नेतृत्व नछाड्न सबैभन्दा बढी दबाब दिँदै आएका छन् ।

मंसिरमा नियमित महाधिवेशन गर्ने विकल्पमा देउवालाई नेतृत्वमै राखेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिने वा अहिलेको केन्द्रीय कार्यसमिति विघटन गरेर कसैको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गर्ने विकल्पमा संस्थापन पक्षले छलफल गरिरहेको छ । तर संस्थापन पक्षभित्रै पनि नेतृत्वको सवालमा एकमत देखिएको छैन ।

नेता शशांक कोइरालाले केन्द्रीय कार्यसमिति नै विघटन गरेर कार्यवाहकको जिम्मेवारी तोक्नुपर्ने मत राखेका छन् । केन्द्रीय कार्यसमिति विघटन नगर्दा विधानअनुसार उपसभापतिलाई कार्यवाहक दिनुपर्ने वैधानिक व्यवस्था छ । केन्द्रीय कार्यसमिति विघटन गर्दा जसलाई पनि दिन सकिने तर्क संस्थापन पक्षका नेताहरूको छ । ‘मैले शेरबहादुरजीलाई यो कार्यसमिति विघटन गरेर तत्काल कार्यवाहक सभापति दिनुहोस् भनेको छु,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने ।

महामन्त्री थापाले भने आफू पदाधिकारी रहेको केन्द्रीय कार्यसमितिको कार्यकाल बढाउने प्रस्ताव आफूले नलैजाने सार्वजनिक रूपमै बताइसकेका छन् । वर्तमान कार्यसमितिको कार्यकाल आगामी मंसिर मसान्तबाट सकिँदै छ । ‘मंसिरभित्र नियमित महाधिवेशन हुनुपर्छ, त्यो सम्भव भएन भने विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्छ,’ थापाले भनेका छन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने
२०८२ असोज २८, मंगलबार